लिखिता बराल, ललितपुर : बर्षा यामको शुरुमै ललितपुरमा तीन जना हैजाका विरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार सातदोबाटाका एक जना बालक, चापागाउँका एक जना युवती र खुमलटारका एक बृद्धामा हैजा भएको भेटिएको हो । हैला भएका विरामीको नाम अस्पतालले गोप्य राखेको छ ।
बर्षायाममा पानीका स्रोतहरु दुषित हुने र पानीकै कारण झाडापखाला तथा हैला फैलिएको डाक्टरहरु बताउँछन् । बर्षायामको शुरुमै तीन जनामा हैजा देखिएपछि यसको नियन्त्रणका लागि सम्बन्धित अस्पताल, खानेपानी वितरक तथा उपभोक्तासँग समेत अन्तरक्रिया गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले बताउनुभयो ।
‘काठमाडौं उपत्यकामा विभिन्न स्रोतबाट पानी आउने हँुदा दिसा मिसिएको पानी कुन माध्यमबाट आयो भनेर पहिचान गरी नियन्त्रण गर्न गाह्रो भएको छ, हामी कहाँ उचित ढलको व्यवस्था नहुँदा पनि खानेपानीको पाइपमा ढल मिसिन्छ, हैजाको संक्रमण हुनुको मुख्य कारण यही हो’ जनस्वास्थ्य प्रशासक पौडेलले बताउनुभयो ।
ललितपुरको ६५ प्रतिशत पानीमा दिसामा पाइने किटाणु (कोलिफर्म)
पानीको नमुना संकलन गर्दा ललितपुरको ६५ प्रतिशत पानीमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । मेलम्ची खानेपानीको पाइप बिछ्याउँदा पानीमा ढल मिसिएको हुनसक्ने डाक्टरहरुको अनुमान छ । हैजा गराउन सक्ने कोलिफर्म मिसिएको पानी पिउँदा ललितपुरमा हैजाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
काठमाडौं उपत्यकामा सेफ्टी ट्यांक र इनार नजिकै भएकाले पनि इनारको पानीमा दिसा मिसिने गरेको डाक्टरहरु बताउँछन् । यसैका कारण पनि हैजा भएको डाक्टरको आंकलन छ ।
गत वर्ष १८० स्थानको पानीको नमुना संकलन गर्दा तीन वटा स्रोतमा हैजाका जीवाणु भेटिएको थियो ।