मेलम्चीको पाइप बिच्छ्याउन निर्देशनालय र निर्माण व्यवसायी बीच सम्झौता

काठमाडौं : मेलम्चीको पानी काठमाडौ उपत्यकाको विभिन्न भागमा वितरण गर्न पाइप विछ्याउने र उपभोक्ताको घरमा धारा बनाउने कामका लागि आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची उपआयोजना–२) र निर्माण व्यवसायी बीच मंगलबार सम्झौता भएको छ ।

निर्देशनालयले यस अघि विस्तार गरेको ६ सय ७० किलोमिटरको वितरण सञ्जालले समेट्न नसकेका उपत्यकाको चक्रपथ भित्रका विभिन्न भागमा नयाँ वितरण प्रणाली स्थापना गर्न सम्झौता गरिएको हो ।
वितरण सञ्जाल सुधार प्याकेज ४ अन्तर्गत निर्देशनालयले पाटन मंगलबजार क्षेत्र, सानेपा क्षेत्र, खुुसीबुँ नयाँबजार क्षेत्र, कलंकी तथा टेकु क्षेत्रमा नयाँ वितरण प्रणाली स्थापना गर्नेछ ।

एशियाली विकास बैंकको ऋण सहयोगबाट निर्माण गरिने नयाँ वितरण सञ्जालको लम्बाई २ सय २९ किलोमिटर र सेवा क्षेत्रका ३२ हजार घरधुरीमा नयाँ प्रणालीमा आधारित धाराहरुको जडान गर्नुपर्ने आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिला प्रसाद ढकालले बताउनुभयो ।

वितरण सञ्जाल ३० महिना भित्र सक्ने लक्ष्य

वितरण सञ्जालको कार्य तत्कालै सुरु गरी आगामी ३० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य निर्देशनालयले लिएको छ । कूल २ अर्ब ६२ करोड ४९ लाख लागतमा निर्माण हुने वितरण सञ्जाल विस्तारको जिम्मेवारी चिनीयाँ निर्माण कम्पनी गोन्झाओ इन्टरनेशनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेशन (जीआइइटीसी) तथा नेपाली साझेदारहरु शर्मा एण्ड कम्पनी र रमण कन्स्ट्रक्सन सम्मिलित संयुक्त उप क्रमले प्राप्त गरेका छन् ।

यस सम्बन्धी सम्झौतामा मंगलबार आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्री र जीआइइटीसी, शर्मा एण्ड कम्पनी र रमण कन्स्ट्रक्सन जेभीका आधिकारीक प्रतिनिधि रमन कन्स्ट्रक्सनका निर्देशक पवन महतो सहित जेभीका प्रतिनिधिले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा आयोजना निर्देशक खत्रीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाबाट प्राप्त हुने पानी वितरणका लागि सम्झौता महत्वपूर्ण रहेको बताउँदै सम्झौता अनुसार समयमै स्तरीय कार्यसम्पादन गरी उत्कष्टताको प्रमाण प्रस्तुुत गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार