मंगल माविको पहिलो सरसफाइ सम्मेलन : एकैसाथ सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम र सामाजिक परिक्षण

कीर्तिपुर, प्रसन्न तामाङ : काठमाडौको किर्तिपुरमा रहेको मंगल माध्यमिक विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी पहिलो विद्यालय सरसफाइ सम्मेलन सम्पन्न गरेको छ । सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम अबलम्बन गरेको मंगल माध्यमिक विद्यालयले हरेक झण्डाको प्रगति पेश गर्नुका साथै सरसफाइ गीत, नाटक र नृत्य प्रस्तुत गरेको थियो ।

सात झण्डे पूर्ण सरसफाइमा हरेक झण्डाले सरसफाइको एउटा सूचकको प्रतिनिधित्व गरेको हुन्छ । विद्यालयमा खानेपानी तथा सरसफाइमा समानता सबैभन्दा राम्रो रहेको पाइएको छ । विभिन्न उप सूचकको आधारमा विश्लेषण गर्दा खानेपानी तथा सरसफाइमा समानताको प्रगति ८० प्रतिशत रहेको छ ।

कुन झण्डाको अवस्था कस्तो ?

पहिलो झण्डा : सात झण्डे पूर्ण सरसफाइ कार्यक्रममा सातै वटा झण्डा ठड्याइएको हुन्छ । पहिलो झण्डा अर्थात नीलो रङको झण्डाले सफा चर्पीको प्रयोगको अवस्थालाई जनाउँछ । मंगल माध्यमिक विद्यालयमा सफा चर्पीको अवस्था ६० प्रतिशत रहेको क्याप्टेन कविन अधिकारीले जानकारी दिनुभयो । छात्रा र छात्रको लागि फरक फरक चर्पी, सफाइ शैली, पर्याप्त पानी, हात धुने सुुविधा भएको नभएको र चर्पीमा गोपनियता र सुरक्षाको अवस्था जस्ता पक्षको विश्लेषणको आधारमा अंकन गरिन्छ ।

दोस्रो झण्डा : दोस्रो झण्डा सेता रङको हुन्छ । यसले हात धुने र व्यक्तिगत सरसफाईको अवस्थालाई दर्शाउछ । यसमा सरसफाइको शिक्षा, हात धुने, दाँत माझ्ने, नङ । कपाल सफा गरी काट्ने, शरिर कपडा र व्यक्ति व्यवहारको विश्लेषणको आधारमा नम्बर दिइन्छ । मंगल माविमा ७५ प्रतिशत विद्यार्थीले नियमित हात धुने र व्यक्तिगत सरसफाइ पनि राम्रो भएको दोस्रो झण्डाका क्याप्टेन अनिषा लामाले जानकारी दिनुभयो । उहाँले आउँदो दिनमा हात धुने बानीको विकास गराउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

तेस्रो झण्डा : रातो रङको झण्डाले महिनावारी धारणा, स्वच्छता र सरसफाइको प्रतिनिधित्व गर्छ । यसमा महिनावारीका कारण विद्यालयमा अनुपस्थित हुने, सफा स्यानेटरी प्याडको प्रयोग, प्याडको उचित व्यवस्थापन र स्यानटरी प्याडको उपलब्धता जस्ता विषयलाई विश्लेषण गरी नम्बर दिइन्छ । तेस्रो झण्डाले ७० प्रतिशत अंक प्राप्त गरेको छ । यो झण्डालाई उठाउन अबको दिनमा सेनेटरी प्याडको सुरक्षित व्यवस्थापनका लागि विद्यालयका शिक्षक शिक्षिकासँग मिलेर काम गरिने क्याप्टेन अनिता खनालले जानकारी दिनुभयो ।

चौथो झण्डा : सात झण्डा मध्ये चौथो झण्डा पहेंलो रङको हुन्छ । यसले विद्यालयमा खानेपानी तथा सरसफाइमा समानताको अवस्था कस्तो छ भनेर हेरिन्छ । चौथो झण्डाका क्याप्टेन सन्ध्या कार्कीका अनुसार विद्यालयमा खानेपानी वितरण र सरसफाइमा कुनै भेदभाव छैन । सबै समुदायका विद्यार्थीले समान रुपमा पानीको उपभोग गर्न पाउँछन् । यसले असक्षम भएकाहरुका लागि खानेपानी र सरसफाइको अवस्था, जाति, लिङ्ग, धर्म आदिका विषयमा भेदभाव रहे नरहेको, सफा पानीको पहुँच सबैलाई भए नभएको, चर्पीको पहुँच सबैमा पुगे नपुगेको र शुल्क, कपडा तथा स्टेशनरी सबैलाई किफायती भए नभएको जस्ता पक्षको विश्लेषण गरिन्छ । चौथो झण्डाको प्रगति ८० प्रतिशत रहेको छ ।

पाँचौं झण्डा : पाँचौं झण्डाको प्रयोग सुरक्षित पानीको अवस्थालाई जनाउन प्रयोग गरिन्छ । यो गाढा नीलो रङको हून्छ । यसमा पानीको पर्याप्त मात्रा, सुरक्षित मुहानको पानी, प्रशोधित पानी जस्ता पक्षको विश्लेषण गरिन्छ । पाँचौ झण्डाका टीम क्याप्टेन रिया महर्जनका अनुसार पाँचौं झण्डाको प्रगति ७० प्रतिशत रहेको छ ।

छ्रैटौं झण्डा : छैटौ झण्डा सुन्तला रङको हुन्छ । यसले सुरक्षित खानाको अवस्थालाई जनाउँभछ । यो झण्डाले सफा बट्टामा खाजा ल्याए नल्याएको, तताउने सुुविधा भए नभएको, विद्यालयको क्यान्टिनले सुरक्षित खाना उपलब्ध गराए नगराएको, विद्यालय वरपरको खाजाको गुणस्तर जस्ता पक्षको विश्लेषण गरिन्छ । छैटौं झण्डाको प्रगति ६० प्रतिशत रहेको छ ।

सातौं झण्डा : अन्तिम तथा सातौं झण्डाले सफा वातावरणको प्रतिनिधित्व गर्छ । यो झण्डाले विद्यालयमा फोहोर हाल्ने भाँडाको व्यवस्था भए नभएको, ठोस फोहोरमैलाको बर्गीकरण गरे नगरेको, व्यवस्थित बगैंचा तथा खेलमैदान भए नभएको, सफा कक्षाकोठा र तरल फोहोरमैलाको व्यवस्थापन भए नभएको भन्ने जस्ता पक्षको विश्लेषण गरिन्छ । विद्यालयले यसमा प्राप्त गरेको अंक ७० प्रतिशत रहेको छ ।

झण्डाको स्थिति

सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम अबलम्बन गर्ने विद्यालयमा सरसफाइ सूचकको आधारमा झण्डाको स्थिति वा उचाई पनि कायम गरिएको हुन्छ । कुनै सूचकमा २५ प्रतिशत भन्दा कम नम्बर आएमा झण्डा बिनाको डन्डा मात्र ठड्यान्छ । २५ देखि ५० प्रतिशत नम्बर आएमा झण्डा सबैभन्दा तल अर्थात जमीन छुवाएर राखिन्छ । कुनै झण्डाको नम्बर ५० प्रतिशत भन्दा माथि ७५ प्रतिशत सम्म आएमा झण्डा आधा उचाईमा पु¥याएर राखिन्छ । यदि ७५ प्रतिशत भन्दा बढी अंक आएमा झण्डा पूरा ठडिएको हुन्छ ।

हरेक झण्डाले प्राप्त गरेको नम्बरको आधारमा सरसफाइ सम्मेलनका प्रमुख अतिथि एवं शिक्षा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले झण्डोत्तलन गर्नुभयो । उहाँले कतिपय सामुदायिक विद्यालयमा स्रोत साधनको अभाव रहेको र कतिपय विद्यालयले भएको स्रोत साधनको पनि राम्रो सँग परिचालन गर्न नसकेको यथार्थ रहेको भन्दै मंगल माध्यमिक विद्यालयले सरकारबाट प्राप्त अनुदान तथा अन्य भौतिक स्रोत साधनको राम्रो सँग उपयोग गरेको बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष सन्जय ज्ञवालीले विद्यालयको संख्याको अनुपातमा शौचालय कम भएको र छात्राका लागि सेनेटरी प्याड फेर्ने सुविधा सहितको शौचालय आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठले विद्यालयको सरसफाइको कुरा सानो जस्तो लागेपछि सरसफाइको अभावमा भयानक रोगहरु लाग्ने र मानिसको ज्यानै सक्ने भएकाले यो जीवनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले विद्यालयको मात्र नभई सिंगो ऐतिहासि शहर कीर्तिपुरको सफाइमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले सफाइ अभियान सन्चालन गर्नका लागि विद्यालयको सफा क्लवलाई १२ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभयो ।

यस्तै विश्व स्वास्थ्य संगठनका प्रोफेश्नल अफिसर डा. सुदन पन्थीले कसैको सहयोग बिना नै मंगल माध्यमिक विद्यालयले सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै विद्यालयकै सक्रियतामा अगाडि बढाएको सरसफाइ कार्यक्रमलाई साकोसान सम्मेलनमा पेश गरिने बताउनुभयो । उहाँले विद्यालयको सफा क्लवका लागि ५ हजार रुपैयाँ नगद प्रदान गर्नुभयो ।

यसअघि उहाँले कीर्तिपुरकै जनसेवा माध्यमिक विद्यालयले गरेको सरसफाइ सम्मेलनमा बुबाको मुख हेर्ने दिन छोरीबाट प्राप्त भएको ५० हजार रुपैयाँ विद्यालयको सफाइ कोषमा जम्मा गर्नुभएको थियो ।
मंगल माध्यमिक विद्यालयले आजै आर्थिक बर्ष २०७३/०७४ को १ करोड ३६ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार