चालीस दिनमा होला त ३३ जिल्ला खुलादिसामुक्त ?

काठमाडौ : नेपालले खानेपानी र सरसफाइमा राखेको लक्ष्य पूरा गर्न तोकेको समय अवधि सकिन ४० दिन मात्र बाँकी छ । सन् २०१७ को आखिरी महिनामा प्रवेश गर्नै लाग्दा पनि सरकारी अधिकारीहरु भनिरहेका छन् ‘खानेपानी र सरसफाइमा राष्ट्रले राखेको लक्ष्य पूरा गरेरै छाड्छौं ।’

दुई दिन अघि विश्व शौचालय दिवस मनाईरहँदा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीले भन्नुभयो ‘देशले राखेको लक्ष्य पूरा गर्न हामी दत्तचित्त भएर लागिरहेका छौं, सन् २०१७ भित्रै देशलाई खुलादिसामुक्त गर्नु पर्छ । यदि हामीले तोकेकै अवधिमा खुलादिसामुक्त गर्न सकेनौं भने हामी कार्यान्वयनमा कमजोर रहेको प्रमाणित हुनेछौं ।’

सचिव विसीकै भनाइमा सहमत हुने हो भने हामीसँग बाँकी रहेको ४० दिनभित्र ३३ वटा जिल्ला खुलादिसामुक्त गर्नुपर्छ । अहिलेसम्म ४२ वटा जिल्ला खुलादिसामुक्त भएका छन् भने मंसिर १९ गते हुम्लालाई ४३ औं खुलादिसामुक्त जिल्ला घोषणा गर्ने मिति तय भएको छ । मंसिर १९ अघि खुलादिसामुक्त गर्ने कुनै पनि जिल्ला सूचीमा नभएकाले तोकिएको समय सीमा सकिन २५ दिन मात्र बाँकी रहँदा खुलादिसामुक्त हुन बाँकी ३२ जिल्ला हुनेछन् ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार अहिलेसम्म ९३ प्रतिशत घरमा चर्पी बनिसकेका छन् । बाँकी ७ प्रतिशत अर्थात अझै तीन लाख भन्दा बढी घरमा शौचालय बन्नै बाँकी छ । यत्ति धेरै चर्पी बाँकी अवधिमा बन्न सक्ने आधारहरु के के छन् त ? सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठलाई सोध्यौं ।

‘हेर्नुहोस् एउटा लुगा सुकाउन जत्ति समय लाग्छ, २५ अर्थात ५० वा १०० वटा कपडा सुक्न पनि उत्ति नै समय लाग्ने भएकाले एउटा चर्पी बनाउन पनि १० दिन हजार वटा चर्पी बनाउन पनि १० दिन र लाखौं चर्पी बनाउन पनि त्यत्ति नै दिन लाग्छ । किनकि एउटा घरले एउटा मात्र चर्पी बनाउने हो । ती सबै चर्पी एक व्यक्तिले बनाउदै हिड्ने पनि होइन ।’

उहाँको यो भनाइमा सहमति जनाउँदा बाँकी समयभित्र देशका सबै घरम चर्पी बनिसक्नेछ । चर्पी बनाएर मात्र देश खुला दिसामुक्त हुन सक्दैन । त्यसको अनुगमन गर्ने, प्रमाणीकरण गर्ने र अन्त्यमा राष्ट्रिय सरसफाइ समन्वय समितिका पदाधिकारीहरुको उपस्थितिमा जिल्लालाई घोषणा गर्नुपर्छ । यो प्रक्रिया पूरा गर्नकै लागि १०/१५ दिन समय लाग्छ ।

देशको सरसफाइको परिदृश्य यस्तो छ, कसरी तोकिएकै समयमा देश खुलादिसामुक्त हुन्छ ? हामीले खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टलाई सोध्यौं । उहाँले १० वटा जिल्ला प्रमाणीकरण भई खुलादिसामुक्त घोषणा गर्न मात्र बाँकी रहेको, अरु जिल्लाको प्रगति पनि ९० भन्दा माथि नै पुगिसकेको दाबी गर्नुभयो । ‘यसअघि हामीले राष्ट्रिय स्तरबाट खुलादिसामुक्त घोषणा समारोहमा पुग्ने गरेका थियौं, हामीले त भनेका छौं, खुलादिसामुक्त अभियानमा जो जो सरिक हुनुभयो, गाउँको गान्यमान्य राखेर खुलादिसामुक्त घोषणा गर्नुहोस् भनेर, त्यसैले पनि मलाई विश्वास छ, खुलादिसामुक्त तोकिएकै समयमा हुन्छ ।’

तर विकास साझेदार निकायहरु भने तोकिएकै समयभित्र देशलाई खुलादिसामुक्त गर्न नसक्ने मनस्थितिमा पुगिसकेका छन् । सरकारकै बोलीमा लोली मिलाउदै आएपनि तोकिएको समय सीमा पूरै हुनै लागेकाले लक्ष्य पूरा नहुने उनीहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार