विनोद धौलागिरि, झापा
शिवसताक्षी नगरपालिका, पाँचगाछीकी महिला स्वास्थ्य स्वयंसेविका गोमा बाँस्कोटाको दैनिकी प्रत्येक विहान झिसमिसेमा सिठ्ठी बजाउँदै सुरु हुन्छ । खुल्ला ठाउँमा दिसा गर्ने ठाउँमा सिठ्ठी बजाउँदै दिसा गर्न बसेकालाई धपाउँदै सरसफाइ अभियानकर्तालाई भेला गर्नु अहिले उहाँको नित्य कर्म जस्तै बनेको छ ।
पाँचगाछीबाट छिमेकी गौरीगञ्ज गाउँपालिका, वडा नं. १ महाभारामा उहाँ दैनिक साइकलमा आउनुहुन्छ, सरसफाइ अभियान सहजीकरण गर्न । ‘आफ्नो गाउँ खुल्ला दिसामुक्त भएर के गर्नु ? छिमेकी गाउँ दुर्गन्धित हुँदा त्यसले आफैलाई पिरोल्ने हो’ उहाँको भनाइ छ ।
गोमालाई साथ दिनका लागि आँखा मिच्दै घरबाट बाहिरिनुहुन्छ अर्की स्वयंसेवी सुनिता पासवान । ‘गाउँघरमा धेरै समय बस्नुपर्ने हामी महिला नै हौं, हामीले समुदायलाई सरसफाइयुक्त नबनाए कसले बनाउने ?’ सुनिताको प्रश्न छ ।

पाँचगाछीकी जानकी ताजपुरिया होस् या शिवसताक्षीकी लीला नेपाल अथवा महाभाराकी छत्रकला भण्डारी र कनकाई नगरपालिकाकी मुना उप्रेती, सबैको दैनिकी उस्तै छ । चर्पी नबनाएका घरमा पुग्ने, चर्पी बनाउनका लागि प्रज्वलन गर्ने, सम्झाउने र खुल्ला ठाउँमा दिसा गर्दा हुने हानीका विषयमा बताउने ।
घरदैलो, प्रज्वलन, जनचेतना जगाउने र अनुगमन गर्ने मात्र होइन, बल लगाउनुपर्ने र नीति नियम बनाउनुपर्ने काममा समेत महिला नै अग्रपंक्तीमा रहेका छन् । ‘हामीले भन्दा उहाँहरुले समुदायका सवालहरुलाई राम्ररी पहिचान गर्नुभएको छ’ गौरीगञ्ज गाउँपालिका वडा नं. १ महाभाराका वडाध्यक्ष कार्तिकलाल राजवंशी भन्नुहुन्छ, ‘त्यसैले, समस्या समाधानका उपायहरु समेत उहाँहरुलाई नै बढी जानकारी छ ।’

खुल्ला दिसामुक्त हुँदै महिलाले हाँकेका इकाइहरु
चाहे खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने सहजकर्ता र प्रज्वलक होऊन् या स्वयंसेवी र जनप्रतिनिधि, महिलाले हाँकेका इकाइहरु खुल्ला दिसामुक्त घोषणा हुनुका साथै घोषणा उन्मुख रहेका छन् ।
हाल खुल्ला दिसामुक्त अभियान सञ्चालन भैरहेका साविकका २४ गाउँ विकास समिति र ६ नगरपालिका मध्ये महिलाले अगुवाइ गरेका स्थानमा अभियान सफल भैरहेको बताउनुहुन्छ खुल्ला दिसामुक्त अभियान, विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक महेन्द्र कार्की । ‘हामीले सहजीकरण गर्ने कनकाई नगरपालिकामा तीन जना महिला सहजकर्ताहरुले सहजीकरण गरेर नगरपालिकालाई खुल्ला दिसामुक्त अवस्थाको नजिक पु-याउनुभएको छ’ कार्कीले भन्नुभयो, ‘अबको दुई हप्ताभित्र कनकाई नगरपालिका खुल्ला दिसामुक्त घोषणा गर्ने योजना रहेको छ ।’

महिलाहरुकै प्रभावकारी सहजीकरणमा खुल्ला दिसामुक्त घोषणा भयो साविक पाँचगाछी गाविस । पाँचगाछीमा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नमा जानकी ताजपुरिया, गोमा बाँस्कोटा र सीता तामाङको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ पाँचगाछीका वडाध्यक्ष अधिकचन ताजपुरिया । ‘हामीले त जनप्रतिनिधिका हिसावले नेतृत्व गरेका मात्र हौं’, ताजपुरियाले भन्नुभयो, ‘अभियानको सहजीकरणको पूरा जिम्मेवारी महिला सहजकर्ता र स्वयंसेवकहरुले नै लिनुभयो ।’

यही माघ २ गते खुल्ला दिसामुक्त घोषणा भएको बाह्रदशी गाउँपालिका, वडा नं ४ र ५ (साविक चकचकी गाविस) मा समेत खुल्ला दिसामुक्त अभियानका सहजकर्ताहरु चन्दा अधिकारी र सुशीला बोहराको पसिना धेरै बगेको बताउनुहुन्छ चकचकीका वडाध्यक्ष भुपेन्द्र कटुवाल ।
‘हामी स्थानीय बासिन्दा त तीन वर्ष अघिदेखि खुल्ला दिसामुक्त गर्नुपर्छ भन्दै खटिरहेका थियौं, तर प्रगति हुन सकेको थिएन’, उहाँले भन्नुभयो, ‘दुई जना महिला सहजकर्ताहरुले सहजीकरण गर्न थालेदेखि अभियानले गति लिन थाल्यो । उहाँहरुले साँझ विहान केही नभनी खटेर सहजीकरण गरेकै कारण चकचकी अहिले खुल्ला दिसामुक्त घोषणा हुन सफल भयो ।’
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा नगरपालिकामा सरसफाइ अभियानले गति लिनुको मुख्य श्रेय सरसफाइ सहजकर्ता लीला आचार्य नेपाललाई दिनुहुन्छ । ‘जनप्रतिनिधि र अन्य सहजकर्ताहरुले समेत काम गरिरहनुभएको छ, तर लीला आचार्य पुगेको घरमा चर्पी बनाउने काम थालनी हुन्छ’, नगर प्रमुख शेर्माको भनाइ छ, ‘चर्पी बनाउनका लागि प्राविधिक सल्लाह दिने कुरामा पनि उहाँ माहिर हुनुहुन्छ ।’

हाल बिर्तामोड नगरपालिकामा गाभिएको साविक गरामनी गाविसमा खुल्ला दिसामुक्त अभियान सहजीकरणको जिम्मेवारी नमिता काफ्ले माथि छ । ‘राती सुत्ने समय बाहेक उहाँ खुल्ला दिसामुक्त अभियान सहजीकरणका लागि फिल्डमा नै भेटिनुहुन्छ’ सहजीकरण गर्ने संस्था सहारा नेपालका कार्यक्रम संयोजक किसन गौतमले भन्नुभयो, ‘काफ्ले संस्थाकै उत्कृष्ट कर्मचारीमा पर्नुहुन्छ ।’
सरसफाइमा सबैभन्दा कम कभरेज भएको गौरादह नगरपालिकाको वडा नं. १, २ र ३ मा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने रमा निरौला आफूले जिम्मेवारी लिएका वडाहरुलाई एक महिनाभित्र खुल्ला दिसामुक्त अवस्थामा पु-याउनका लागि खटिरहनुभएको छ ।
‘वडा नं. ३ लाई १५ दिनभित्र खुल्ला दिसामुक्त घोषणा गरेर बाँकी वडालाई पनि एक महिनाभित्र खुल्ला दिसामुक्त अवस्थामा पु-याउनुपर्छ’, निरौलाको भनाइमा सही थप्दै वडा नं. ३ का अध्यक्ष गजेन्द्र घिमिरेले भन्नुभयो ‘रमाले सहजीकरण गर्ने हो भने बाँकी वडा पनि छिटै खुल्ला दिसामुक्त घोषणा हुन्छन् ।’


984 पटक हेरिएको 

