सलाम ! मेनुकालाई, सरसफाइ च्याम्पियन अवार्ड, कमल गाउँपालिकालाई

 755 पटक हेरिएको

विनोद धौलागिरि, झापा

दुई महिना अघि झापाको विर्तामोडमा आयोजना गरिएको एक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी भइरहेका बेला कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले फोनमा भन्नुभएको थियो ‘हाम्रो गाउँपालिकालाई सन् २०१७ भित्रै खुल्ला दिसामुक्त कसरी गर्न सकिन्छ ? योजना बनाएर काम गरिहाल्नुप-यो ।’

त्यत्तिबेला सन् २०१७ को उत्तरार्धतिर थियौं । उहाँले भनेजस्तै तत्काल खुलादिसामुक्त घोषणा गराउने अवस्थामा थिएनौं । किनकि १२ सय बढी चर्पी बनाउनै बाँकी थियो । त्यसबेला उहाँले एउटा प्रतिबद्धता गर्नुभएको थियो ‘हामीले समृद्ध मानिरहेको झापाका कारण देश खुल्ला दिसामुक्त हुनबाट रोकियो भने को जिम्मेवार भन्ने प्रश्न आउँछ कम्तिमा पनि मैले नेतृत्व गरेको गाउँपालिकालाई जिम्मेवार हुनबाट रोक्छु ।’

दुई महिना अघि अध्यक्ष मेनुका काफ्लेले गर्नुभएको प्रतिबद्धता आज व्यवहारमै पुष्टि हुँदैछ । झापा जिल्लामा महिलाले नेतृत्व गरेको एकमात्र गाउँपालिका कमल गाउँपालिका भोलि (माघ ९ गते ) खुल्ला दिसामुक्त घोषणा हुँदैछ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भैसकेपछि पहिलो खुल्ला दिसामुक्त स्थानीय तह बन्दैछ कमल गाउँपालिका ।

‘हाम्रो गाउँपालिकाका कारण नेपाल फोहरी ठाउँको सूचीमा रहनु हुँदैन भन्ने दृढताका कारण हाम्रो टिम खुल्ला दिसामुक्त अभियानमा लाग्यो’ काफ्लेले भन्नुभयो ‘हामीले अठोट लिएको दुई महिनाभित्रै गाउँपालिका भित्र बाँकी रहेका १ हजार २ सय घरमा चर्पी बनेका छन्, गाउँ खुल्ला दिसामुक्त अवस्थामा पुगेको छ ।’

 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भैसकेपछि खुल्ला दिसामुक्त घोषणा गर्ने पहिलो नगरपालिकालाई प्रदान गरिने ‘सरसफाइ च्याम्पियन अवार्ड’ समेत कमल गाउँपालिकाले नै पाउँदैछ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले यस अवार्डको घोषणा गरेको हो ।

‘जिल्ला खुल्ला दिसामुक्त घोषणाको अवसरमा प्रदान गरिने यस अवार्ड जिल्लाकै प्रतिष्ठित अवार्ड हुनेछ’ जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको भनाइ छ ।

त्यसो त, उत्कृष्ट कार्य सम्पादन गरेवापत खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने संस्थाबाट सम्मानित हुनेहरुमा अधिकांश महिला सहजकर्ता नै रहेका छन् । सहारा नेपालले सुशीला राई र नमिता काफ्लेलाई उत्कृष्ट कार्य सम्पादन गरेवापत सम्मानित गरेको छ भने सगरमाथा सामुदायिक विकास केन्द्रले छत्रकला भण्डारी र जानकी ताजपुरियालाई । विराट सामुदायिक अध्ययन केन्द्रबाट मुना उप्रेती र रमला अधिकारी सम्मानित हुनुभएको छ ।

 

 

महिलाको सवाल, महिलाकै नेतृत्व

खानेपानी र सरसफाइ पुरुषभन्दा पनि महिलासँग बढी सरोकार राख्ने सवाल भएकोले महिलाको अगुवाइ र सहजीकरण बढी प्रभावकारी भएको बताउनुहुन्छ महेन्द्र कार्की । ‘अधिकांश पुरुष कामको सिलसिलामा घरबाहिर छन्, घरमा महिला बस्छन्’, उहाँ भन्नुहुन्छ, ‘घरमा रहेका महिलालाई सम्झाउन महिला सहजकर्ताको सहजीकरण बढी प्रभावकारी देखिन्छ ।’

 

यसलाई स्वीकार्नुहुन्छ गरामनीमा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने नमिता काफ्ले । ‘साविक गोलधाप गाविसमा हामी खुल्ला दिसामुक्त अभियानमा सहजीकरण गर्न जाँदा अभियानकर्ता साथीहरुको अनुरोधलाई अस्वीकार गर्ने ७२ वर्षीया आमैले मैले सम्झाउँदा चर्पी बनाउन राजी हुनुभयो’, काफ्लेले सुनाउनुभयो, ‘उहाँलाई पुरुष सहजकर्ताले अनुरोध गर्दा लागेको थिएन, हामी महिला सहजकर्ताले अनुरोध गरेपछि चर्पी बनाउन मान्नुभयो ।’

 

महिलालाई उत्प्रेरित गर्ने सवालमा मात्र होइन, पुरुषलाई उत्प्रेरित गर्ने सवालमा समेत महिला सहजकर्ताहरु अब्बल रहेको सुनाउनुहुन्छ महाभाराका वडा सचिव भोजकुमार अधिकारी । ‘हाम्रा महिला सहजकर्ताहरुको सहजीकरणकै कारण एक महिनाको अवधिमा करिब ३ सय घरधुरीमा आफ्नै लगानीमा शौचालय बनेका छन्, उहाँले भन्नुभयो ‘आउँदो साता महाभारा पनि खुल्ला दिसामुक्त अवस्थामा पुग्छ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार