विनोद धौलागिरि, रेजिना गौतम, झापा
खुल्ला दिसामुक्त अभियानको क्रममा सहयोग जुटाएर आफ्नो घरमा चर्पी बनाउने १२ वर्षीया आशिका राजवंशीलाई अध्ययनका लागि समेत सहयोग जुटेको छ । विपन्न परिवारकी राजवंशीले गाउँमा खुल्ला दिसामुक्त अभियान सुरु भएसँगै आफ्नो घरमा चर्पी बनाउन चाहनु भएको थियो ।
वास खवर डट कम, स्थानीय जनआन्दोलन साप्ताहिक लगायतका विभिन्न सञ्चार माध्यममा उहाँले सरसफाइ अभियान सफल बनाउनका लागि गरेका प्रयासहरुको विषयमा समाचार प्रकाशन भएका थिए । समाचारमा उहाँले धेरै पढ्न चाहे पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई बिट मार्नुपर्ने अवस्था आउन सक्ने समेत उल्लेख गरिएको थियो ।

यिनै समाचारको प्रभावका कारण झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ निवासी कृष्णप्रसाद भट्टराईले आफ्नो एक सयौं जन्मदिनको अवसर पारेर आफ्नो घरमा आफै चर्पी बनाउने बालिका आशिका राजवंशीलाई अध्ययनका लागि ५ हजार १ सय १ रुपैयाँ नगद, दोसल्ला र शुभाशिष पत्रले शनिबार सम्मान गर्नुभयो ।

“आशिकाले आफै चर्पी बनाएको समाचार मैले बुबालाई सुनाएपछि बुबा निकै खुशी हुनुभयो”, कृष्णप्रसाद भट्टराईका छोरा युवराज भट्टराईले भन्नुभयो, “आफ्नो सयौं जन्मदिनमा बालिकालाई सहयोग गर्ने इच्छा राख्नुभयो, त्यसैले स्थानीय सञ्चारकर्मीमार्फत उहाँलाई बोलाएर सम्मान गर्न पायौं ।”
सो रकमका अलावा कार्यक्रममा उपस्थित सहभागीहरुले समेत आशिका राजवंशीको पढाइका लागि थप १ हजार ७ सय रुपैयाँ सहयोग गर्नुभयो । “यो थालनीमात्र हो, समाजका यस्ता चम्किला नक्षत्रहरुलाई थप सहयोग गर्दै जानेछौं”, युवराज भट्टराईले भन्नुभयो ।
को हुन् आशिका राजवंशी ?
साविक पाँचगाछी गाउँ विकास समिति, वडा नं. ९ (हाल शिवसताक्षी नगरपालिका, वडा नं. ५० सुकुमबासी टोलमा बसोबास गर्ने आशिका राजवंशी दाजुरा राजवंशीकी एकमात्र छोरी हुनुहुन्छ । आयश्रोत नभएका बुबाआमाले सुकुम्बासी बस्तीमा छाप्रो बनाएर बस्नुभएको छ ।

स्थानीय विद्यालयमा ६ कक्षामा अध्ययनरत आशिका राजवंशीले विद्यालयमा सरसफाइ बाल क्लब गठन र अभिमुखीकरण भएदेखि नै आफ्ना बुबा आमालाई घरमा सुरक्षित शौचालय निर्माणका लागि अनुरोध गर्नुभएको थियो । कमजोर पारिवारिक अवस्था र ज्याला मजदूरीबाट कमाइ गर्ने बुबा विरामी भएपछि दाजुरा परिवारले तोकिएको अवधिमा चर्पी बनाउन सकेको थिएन ।
शिवसताक्षी नगरपालिका वडा नं. ४ र ५ (साविक पाँचगाछीगाविस) खुल्ला दिसामुक्त घोषणाको अन्तिम अवस्थामा पुग्दा समेत आशिकाको घरमा चर्पी बनेको थिएन । चर्पी बनाउनका लागि अनुरोध गर्न पुगेका खुल्ला दिसामुक्त अभियानका सहजकर्ता दुर्गा गणेशलाई नै अनुरोध गरेर आशिकाले चर्पीका लागि खाडल बनाउन लगाउनुभयो भने वडाध्यक्ष र अभियानकर्तासँग अनुरोध गरेर शौचालय निर्माणका लागि रिङ र प्यान सहयोग लिनुभयो ।
चर्पी बनाउनका लागि लाग्ने बालुवा आफैले खोलाबाट जम्मा गरी ल्याउनुभयो । आशिकाकै प्रयासका कारण उहाँको घरमा चर्पी बन्यो, र यो नै पाँचगाछीको बनेको अन्तिम चर्पी थियो ।
सरसफाइ अभियानकर्ताहरुको सहयोगमा चर्पी बनेपछि साविक पाँचगाछी खुल्ला दिसामुक्त घोषणाको अवसरमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको तर्फबाट समेत बालिका आशिका राजवंशीलाई शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको थियो ।


1069 पटक हेरिएको 

