लुम्बिनी काठमाडौभन्दा डेढ गुणा प्रदुषित

काठमाडौ : वातावरणीय प्रदुषण मापन तथ्यांकका आधारमा लुम्बिनी सबैभन्दा बढी प्रदुषित क्षेत्र रहेको पाइएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांक अनुसार काठमाडौँ भन्दा लुम्बिनी डेढ गुणा बढी प्रदुषित पाइएको वातावरण विभागले जनाएको छ ।

यसअघि काठमाडौँ बढी प्रदुषित क्षेत्रका रुपमा रहदै आएको थियो । मानव स्वास्थ्यमा असर गर्ने मसिनो धुलोका कण औसतमा काठमाडौमा भन्दा लुम्बिनीमा बढी पाइएको विभागका सहप्रवक्ता मोहनदेव जोशीले बताउनुभयो ।

दिउँसोभन्दा बिहान र बेलुकी बढी प्रदूषण 

वायु प्रदूषणको स्थिति जाँच गर्ने स्टेनशको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४ बजेसम्म) कम प्रदूषित रहन्छ भने बिहानी र बेलुकीको समय बढी प्रदूषित छ । वार्षिक तथ्यांक हेर्दा भने कात्तिकदेखि फागुनसम्म अत्यधिक प्रदूषित हुने गरेको छ । 

काठमाडौँको हानिकारक प्रदूषणको स्रोतमा योगदानका आधारमा क्रमशः सवारी साधन, धुलो, कृषि कर्म र इँटाभट्टा रहेका छन् । वातावरण क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागितामा विभागद्वारा आज आयोजित कार्यक्रममा सरोकारवालाले वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन आपसी समन्वय हुनुपर्नेमा जोड दिए । 

वातावरण मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्सालले नेपालमा वातावरणसँग सम्बन्धित तथ्यांक एवं स्रोत धनको कमी नभए पनि त्यसलाई प्रभावकारी परिचालन र उपयोग गर्न नसक्दा अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताउनुभयो । 

विभागले एक वर्षअघि नै मुलुकको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गर्न मुुलुकभर १२ स्टेशन स्थापना गरेको छ । त्यस्ता स्टेशन काठमाडौँको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुरमा छन् भने उपत्यका बाहिर सौराहा, लुम्बिनी र पोखरामा (तीन वटा) छन् । यद्यपि मुलुकभर ५६ स्टेसन आवश्यक पर्ने विभागको भनाइ छ । 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार