विनोद कुमार महतो, जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ का देवनारायण यादवले चुनाव जितेको भए यत्तिबेला प्रतिनिधिसभा सदस्य भइसक्नु हुन्थ्यो । यादव, प्रतिनिधिसभा सदस्यको चुनावमा नयाँ शक्ति पार्टी धनुषाबाट उम्मेदवार बन्नु भएको थियो ।
उहाँको परिचय यत्तिमा मात्र सीमित छैन । उहाँ सिंचाई विभागका अवकाश प्राप्त ईन्जिनियर समेत हुनुहुन्छ । आफूलाई समाजको नेतृत्वकर्ता ठान्ने यादवले आफ्नो घरमा भने अझै सम्म चर्पी बनाउनुभएको छैन । चर्पी बनाउन आग्रह गर्न घरदैलोमा जाँदा जाँदा वडा नं. ११ का वडा अध्यक्ष सत्यनारायण कुंवर दनुवार समेत आजित भइसक्नुभएको छ ।
वडा अध्यक्ष दनुवारका अनुसार घरदैलोका क्रममा तीन चोटी यादवको घरमा पुगिसक्नु भएको छ । प्रहरी लिएर जाँदा समेत अहिलेसम्म पनि चर्पी बनाउन आलटाल गरिरहेको वडाध्यक्ष दनुवारले बताउनुभयो । ‘यादव जी ले चर्पी बनाउन आलटाल गर्दै आएका छन्, अब हदैसम्मको सामाजिक दवाव दिनुपर्ने आवश्यकता देखेको छु’ वडा नं. ११ मा चर्पीको अनुगमन पछिको छलफल कार्यक्रममा वडा अध्यक्ष दनुवारले भन्नुभयो ।
अवकाश प्राप्त इञ्जिनियर यादवले जनकपुर र वीरगञ्जमा समेत घडेरीको बन्दोबस्त गरिसक्नुभएको छ । गाउँकै धनी यादवले चर्पी बनाउन आलटाल गरेपछि गाउँका सबै चकित परेका छन् ।

शिक्षित र सम्पन्न व्यक्ति नै सरसफाइप्रति गम्भीर नभएको देखेर डुमरियाका बासिन्दा आश्चर्यमा परेका छन् । ‘उहाँको घरको छेउमै रहेका घरका मानिसहरु चर्पीमा जान्छन् तर ईन्जिनियर साव एका विहानै लोटा लिएर बाटो लाग्छन् ।’ डुमरियाका एक स्थानीयले भने ।
रघुनाथपुरमा चर्पीको अनुगमन
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ रघुनाथपुरमा चर्पी अनुगमन गरिएको छ । खुल्ला दिसामुक्त अभियान अन्तर्गत जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गरेको हो ।
डिवाससिसिका कार्यदल सदस्य एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ स्रोत व्यक्ति विजय कुमार यादवको नेतृत्वमा गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ रघुनाथपुरको डिल टोल, जानकी टोल, शंकरपुर, गौरीपुर र डुमरियामा चर्पीको सरसफाइको अवस्था र गुणस्तर अनुगमन गरिएको हो ।
नगरपालिकाको पाँचवटै टोलमा जम्मा ३ सय ८१ घरपरिवारको बसोबास छ । डिवाससिसिले तोकेको अनुगमन मापदण्ड अनुसार १०० घरको अनुगमन गरिएको टोली संयोजक यादवले जानकारी दिनुभयो ।
अनुगमन टोलीमा यूएन ह्याविटाट धनुषाका संयोजक एवं डिवाससिसि कार्यदल सदस्य उमा सिम्खडा, विष्णु भण्डारी, विनोद महतो, कौशल्या कुशवाहा, विमला यादव, दुर्गा कुमारी लगायत वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यस्तै वडा अध्यक्ष सत्यनारायण कुंवर दनुवारको अध्यक्षतामा गरिएको अनुगमनमा वडाका हविव मियाँ कवारी, राज कुमार साह, सिताराम अधिकारी, भुलकुन देवी महरा, परमवती देवी यादव लगायत जनप्रतिनिधी र स्थानीय बासिन्दाको समेत उपस्थिति थियो ।
गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ११ मा चर्पी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब चाँडै नै ११ नं. वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने वडा अध्यक्ष दनुवारले बताउनुभयो । वडा नं. ११, गणेशमान चारनाथ नगरपालिकाको खुल्ला दिसामुक्त हुन लागेको पहिलो वडा हो ।
वडा नं. ११ मा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।


967 पटक हेरिएको 

