विनोद धौलागिरि, महाभारा (झापा)
झापा जिल्लाको दक्षिणी भेकमा पर्ने गौरीगञ्ज गाउँपालिकाको पहिलो स्थानीय इकाइको रुपमा साविक महाभारा गाविस (हाल वडा नं. १) खुल्ला दिसामुक्त अवस्थामा पुगेको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको माघ २२ गतेको बैठकले महाभारालाई खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति दिएसँगै महाभारामा दिउँसोदेखि नै सरसफाइ अभियानकर्ता र जनप्रतिनिधिहरुको व्यस्तता बढेको छ । “भोलि (माघ २३ गते) खुल्ला दिसामुक्त घोषणा गर्नुछ, त्यसैको तयारीमा लागेका छौं”, खुल्ला दिसामुक्त अभियानकी स्थानीय सहजकर्ता छत्रकला भण्डारीले भन्नुभयो ।
यस्तै हतारोमा हुनुहुन्छ वडा नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशी समेत । “अझै केही अतिथिहरुलाई पत्राचार गर्न बाँकी नै छ । पत्र पठाउन नसके पनि फोनबाटै निम्त्याउदैछौं”, उहाँले भन्नुभयो, “खुल्ला दिसामुक्त घोषणासँगै सामाजिक रुपान्तरणमा एक पाइला अगाडि बढेको खुशियालीमा अहिले दीपावली गरिरहेका छौं ।”

वडा कार्यालय, स्थानीय कुञ्जीबारी बजार र अन्य बजार क्षेत्रमात्र होइन, साविक वडा नं. २ मा रहेको सुकुमबासी वस्तीमा समेत दीपावली भयो । “अहिलेसम्म खुल्लामा दिसा गर्ने र फोहर टोलको रुपमा चिनिएको सुकुमबासी बस्तीलाई सरसफाइमा नमूना बनाउने योजनामा हामी लागेका छौं”, स्थानीय सुमित्रा पासवानले भन्नुभयो, “त्यसैले आजको दीपावलीमा हामी पनि सहभागी भयौं ।”
खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था सगरमाथा सामुदायिक विकास केन्द्र/वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक सोमनाथ आचार्य स्थानीय सहजकर्ताहरुलाई हौसाउन र खुशियाली साटासाट गर्न दीपावलीमा पुग्नुभयो । “तपाईहरुले फोहरविरुद्धको पहिलो युद्ध जित्नुभएको छ, अब पूर्ण सरसफाइको अझै चुनौतिपूर्ण यात्रामा अघि बढ्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष कार्तिकलाल राजवंशीले आजैदेखि पूर्ण सरसफाइको यात्रा सुरु भएको बताउनुभयो । “भोलि खुल्ला दिसामुक्त घोषणा समारोहले औपचारिकता प्रदान गर्दछ, तर यात्रा यही दीप प्रज्वलनसँगै सुरु भयो”, दीपावलीमा पहिलो दीप प्रज्वलन गर्दै उहाँले बताउनुभयो ।
तिमीले युद्ध जित्यौ छत्रकला
नदी किनारमा रहेको र डुबान क्षेत्र समेत पर्ने महाभारा खुल्ला दिसामुक्त गर्न पक्कै पनि सजिलो थिएन । आफूहरु निर्वाचित भएर आउनुभन्दा अगाडिदेखि नै खुल्ला दिसामुक्त अभियानको सहजीकरणले निरन्तरता पाएका कारण समुदाय खुल्ला दिसामुक्त हुन सम्भव भएको बताउनुहुन्छ वडाध्यक्ष राजवंशी ।

“झरी, वर्षा र डुबानमा समेत तिमी निरन्तर लागिरह््यौ, हामी निर्वाचित भएर आएपछि पनि खुल्ला दिसाविरुद्धको तिमीले लडिरहेको युद्धमा चाहेजस्तो साथ दिन सकेका थिएनौं”, खुल्ला दिसामुक्त अभियानका सहजकर्ता छत्रकला भण्डारीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “यो कठिन यात्रा अन्ततः तिमीले जित्यौ, यो जीतमा साथ दिन पाएकोमा हामी खुशी छौं ।”
सहजकर्ताहरुले बनाएको योजना र देखाएको बाटोमा आफूहरु पनि अगाडि बढेकोले छोटो समयमा खुल्ला दिसामुक्त हुन सफल भएको समेत अध्यक्ष राजवंशीले बताउनुभयो ।
खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृत अमरकुमार रायले निरन्तरको सहजीकरणका कारण समुदायको सरसफाइसम्बन्धी आनिवानीमा फेरबदल आएको बताउनुभयो । “सबै स्थानीय बासिन्दा र सामाजिक राजनीतिक अगुवाहरुको उत्तिकै योगदान छ”, रायले भन्नुभयो, “जनप्रतिनिधिको अगुवाइ नभएको भए खुल्ला दिसामुक्त हुन कठिन हुन्थ्यो, तर पनि सहजकर्ताको सहजीकरण ज्यादै प्रभावकारी रह्यो ।”
भण्डारीलाई सरसफाइ योद्धा सम्मान
खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने संस्था सगरमाथा सामुदायिक विकास केन्द्रले सरसफाइ प्रज्वलक छत्रकला भण्डारीलाई सरसफाइ योद्धा सम्मानबाट सम्मानित गर्ने भएको छ ।

प्रतिकूल अवस्थामा समेत निरन्तर सहजीकरण गरी आफूले जिम्मेवारी लिएको क्षेत्रलाई खुल्ला दिसामुक्त अवस्थामा पु-याउनका लागि महत्वपूर्ण भूमिका खेलेवापत सहजकर्ता भण्डारीलाई सरसफाइ योद्धा सम्मान प्रदान गर्न लागिएको टोली प्रमुख अम्बू विष्टले जानकारी दिनुभयो ।
माघ २३ गते खुल्ला दिसामुक्त घोषणाको अवसरमा सो सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।


1096 पटक हेरिएको 

