विद्यार्थीले हेडमास्टरलाई थमाए, चर्पी बनाउन अनुरोध पत्र

विनोद धौलागिरि, शरणामती (झापा)

त्रिसठ्ठी बसन्त पार गरेका झापा शरणामतीका टेकनारायण राजवंशीले आफ्नो जीवनका ३७ वर्ष विद्यार्थीलाई सरसफाइ पढाएरै बिते । सेवा निवृत्त जीवन बिताइरहेका टेकनारायणलाई आइतबार आफैले पढाएको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुले सरसफाइको पाठ पढाए ।

टेकनारायणको घरमा अहिले पनि चर्पी छैन, र खोलाको किनारमा दिसा गर्नुहुन्छ । विद्यार्थी साम मोहम्मदले टेकनारायणलाई चर्पी बनाउनका लागि अनुरोधपत्र हातमा थमाइदिनुभयो ।

 


“मेरा छोरी नातिनीहरुले आज आँखा खोलिदिएका छन्, अब चर्पी बनाउनैपर्ने भयो”, पत्र पाएपछि पूर्व प्रधानाध्यापक टेकनारायण राजवंशीले भन्नुभयो, “हामीले गर्न सकेनौं, अब नानी बाबुहरुले पूरा गरिरहेका छन् हामीले गर्न नसकेको काम ।”

 


टेकनारायणमात्र होइन, सोही विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामकुमार राजवंशीको घरमा पनि सुरक्षित शौचालय छैन । “आज रामकुमार सर घरमा भेट हुनुभएन, उहाँको घरमा पत्र छोडेर आयौं”, छात्र पूर्णिमा राजवंशीले भन्नुभयो, “भोलि फेरि उहाँको घरमा पुगेर चर्पी बनाउन अनुरोध गर्छौं ।”

अगुवाले चर्पी नबनाउँदा विद्यार्थी दुःखी

विद्यार्थी विजय ताँतीले शिक्षक अभिभावक संघका अध्यक्ष र पूर्व अध्यक्षहरुले नै चर्पी नबनाएकोमा दुःख व्यक्त गर्नुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष मोहम्मद अली, सदस्य सन्तोषकुमार साह, अञ्जुला ताँती, मनिषादेवी सहनी र नारायण राजवंशीको घरमा समेत चर्पी नभएको शिक्षक गोपाल गणेशले जानकारी दिनुभयो । “आजदेखि विद्यार्थीहरुको अभियान थालनी भएको छ, अब विद्यालयले समेत सरसफाइ अभियानको नेतृत्व लिनका लागि कार्ययोजनासहित अभियान थालनी गरेका छौं”, शिक्षक अशोक राजवंशीले भन्नुभयो।

 


शरणामतीमा वडा नागरिक मञ्चका पूर्व संयोजक भागिरथ राजवंशीको घरमा समेत चर्पी छैन । स्थानीय तह पुनःसंरचना हुनुअघि वडा अध्यक्षहरुको समेत भूमिका निर्वाह गर्ने नागरिक मञ्चका संयोजकै घरमा चर्पी नहुनु दुःखद भएको बताउनुहुन्छ विद्यार्थी सामिल बास्की ।

“विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुकुमिद्धिन मियाँको घरमा समेत चर्पी नभएको भेटियो”, विद्यार्थी कुसुमिद्धिनले भन्नुभयो, “अब चर्पी नहुने सबै घरमा पुगेर बालबालिकाको जीवन रक्षा र समुदायको इज्जतका लागि चर्पी बनाउन अनुरोध गर्छौं, नटेरेमा खुल्लामा दिसा गर्ने स्थानमा गश्ती गरी धपाएर भए पनि चर्पी बनाउन लगाउछौं ।”

 


तोकिएको मितिमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिछाड्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ गाउँपालिका अध्यक्ष जयनारायण साह । “चर्पी नहुनेलाई उपभोक्ता समितिमा समेत नराख्नुहोस्”, समुदायका अगुवाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले भन्नुभयो, “खुल्लामा दिसा गर्नु सामाजिक अपराध हो, अपराध गर्ने व्यक्तिलाई समितिमा राख्नु हुँदैन ।”

 


३०४८ घरधुरी रहेको झापा गाउँपालिकाको शरणामतीमा मात्र १ हजार २ सय १८ घरमा सुरक्षित शौचालय बन्न बाँकी रहेको छ । ७ हजार ३६ घरधुरी रहेको झापा गाउँपालिकाका ३ हजार ४ घरमा सुरक्षित शौचालयको पहुँच पुगेको छैन । साविक टाघनडुब्बा, कुमरखोद र शरणामती गाविस मिलेर बनेको झापा गाउँपालिका झापा जिल्लाको पुरानो सदरमुकाम समेत हो ।


झापा जिल्लालाई २०७४ चैत्र २२ गतेभित्र खुल्ला दिसामुक्त गर्ने जिल्लाको योजनाअनुरुप समुदायमा शिक्षा क्षेत्र समेत परिचालन गरिएको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था सहारा नेपालका खुल्ला दिसामुक्त अभियान संयोजक किसन गौतमले जानकारी दिनुभयो ।

 


आउँदो फाल्गुण १५ भित्र सम्पूर्ण स्थानीय तह खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय अनुरुप सम्पूर्ण स्थानीय निकायहरुमा तयारीका लागि जानकारी गराइएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार