बैतडी : भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ चडेखानका श्रीमानहरुले आफ्ना श्रीमतीलाई सेनेटरी प्याड वितरण गरेका छन् । सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले आयोजना गरेको कार्यक्रममा २५ जना श्रीमान तथा प्रेमीले आ –आफ्नो श्रीमती तथा प्रेमिकालाई प्याड बितरण गरिएको हो ।

सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडील प्रेम दिवसको दिन पारेर प्याड गिफ्ट डे मनाएको हो ।
प्रेमको रुपमा गुलाफका फुल वा अरु उपहार दिनुको सट्टा आफ्नो प्रेमिकालाइ प्याड किनेर गिफ्ट दिए स्वस्थ हुने भएकाले प्याड गिफ्ट डे का रुपमा मनाइएको सञ्जालले जनाएको छ ।
सबैभन्दा पहिले मानिस स्वस्थ हुन आवश्यक रहेकाले गाउँघरमा महिलालाई महिनावारी भएको बेला कसरी सुरक्षित रहने भन्ने पनि थाहा नपाएकाले स्यानेटरी प्याड कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिन प्याड गिफ्ट डे मनाएको हो ।

महिलाका लागि फूलभन्दा पनि प्याड आवश्यक पर्ने भएकाले स्वस्थ रहन आफ्नो प्रेमिकालाइ गिफ्टको रुपमा प्याड किनेर दिउन भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशी र स्टाफ नर्स जमुना पर्टेलले घरमै प्याड बनाउने र प्रयोग गर्ने तरिका सिकाउनुभएको थियो ।



934 पटक हेरिएको 

