झापालाई निर्धारित समयमै खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय चर्पी बनाउनुपर्ने

रेजिना गौतम, झापा

झापा जिल्लालाई तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय भन्दा बढी शौचालय बनाउनुपर्ने देखिएको छ । झापाका एक लाख ८२ हजार २१५ घर मध्ये २२ हजार ४५६ घरमा मापदण्ड अनुसारको शौचालय निर्माण हुन बाँकी रहेकाले दैनिक ५१० वटा शौचालय निर्माण हुँदा मात्र लक्ष्य पूरा हुने देखिएको हो । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको माघ १९ गते बसेको बैठकले चैत १५ सम्ममा सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त घोषणा गर्ने र चैत्र २२ गते जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिसकेको छ ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक सोम पोर्तेलका अनुसार झापाका एक लाख ५९ हजार ७५९ घरमा मापदण्ड पुगेको शौचालय निर्माण भइसकेका छन् ।

झापामा अझै १३ प्रतिशत घरमा शौचालय निर्माण हुन बाँकी छ । तर, तोकिएको मिति आउन अझै डेढ महिना समय भएकाले खुला दिसामुक्त गर्ने लक्ष्य पूरा हुने अभियन्ताहरु बताउँछन् ।

खुल्ला दिसामुक्त घोषणाका लागि विभिन्न मापदण्ड तयार गरिएको छ । शौचालय प्रत्येक परिवारको पहुँचमा हुनुपर्ने, प्रत्येक स्थानीय तह खुल्ला दिसामुक्त हुनुपर्ने, खुल्ला दिसामुक्त गर्नका लागि प्रत्येक घर÷घरमा शौचालय हुनुपर्ने मापदण्ड भएकाले सबै घरधुरीमा शौचालय निर्माण भएपछि मात्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने संयोजक पोर्तेलले बताउनुभयो ।

 

‘पहिलो फोकस घर नै हो, त्यसपछि सार्वजनिक शौचालयका कुरा पनि आउँछन, चैत १५ सम्ममा सबै घरको पहुँचमा शौचालय पुग्नेछ, यसमा सबै स्थानीय तहका जनप्रतिनिधिहरु पनि प्रतिवद्ध हुनुहुन्छ ।’ उहाँले भन्नुभयो ।

 

गौरादह नगरपालिकामा सबैभन्दा बढी शौचालय बनाउन बाँकी

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार आठ नगरपालिका मध्ये सबैभन्दा बढी गौरादह नगरपालिकामा ३ हजार ३९८ शौचालय बनाउन बाँकी छ । यस्तै दोस्रोमा मेचीनगर नगरपालिकामा दुई हजार १४६ घरमा शौचालय बनाउन बाँकी छ । तेस्रोमा भद्रपुर नगरपालिकामा दुई हजार ७४ वटा शौचालय निर्माण हुन बाँकी रहेको ग्लोबल सरसफाइ अभियानका जिल्ला संयोजक विनोद शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी १७ हजार ८९४ घरधुरी रहेको विर्तामोड नगरपालिकामा एकहजार ७५४ घरधुरी शौचालय विहीन छन् । शिवसताक्षी नगरपालिकामा पनि एक हजार १०६ घरमा शौचालय निर्माण हुन बाँकी छ । अर्जुनधारा नगरपालिकाका १४६ घरमा मात्र शौचालय निर्माण हुन बाँकी छ ।

झापामा अहिलेसम्ममा साविकका १३ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भएका छन् । महाभारा, पाँचगाछी, बैगुनधुरा, लखनपुर, बुधबारे, शान्तिनगर, गोलधाप, दुवागढी, धाइजन, खुदुनावारी, जलथल र चकचकी खुल्ला दिसामुक्त भइसकेका छन् । अहिलेसम्म बुद्धशान्ति र कमल गाउँपालिका गरी दुई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । सातवटा गाउँपालिका मध्ये अब ५ वटा गाउँपालिका मात्र खुल्ला दिसामुक्त हुन बाँकी छन् ।

आठवटा नगरपालिका मध्ये कनकाई नगरपालिकालाई सोमबार खुला दिसामुक्त घोषणा गरिएको छ । झापामा २०६८ सालदेखि सरसफाइ (खुल्ला दिसामुक्त) अभियान शुरु भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार