गौरादह, झापा : कमजोर सरसफाइका कारण आलोचना खेपिरहेको झापाको गौरादह नगरपालिकाले खुल्ला दिसामुक्त अभियानमा खाता खोलेको छ । वर्तमान अर्थमन्त्री, महान्यायाधिवक्ता र सरसफाइ दूतको समेत गृहनगर रहेको गौरादहको वडा नं. ३ शुक्रबार खुल्ला दिसामुक्त घोषणा भएको हो ।

पूर्व सांसद दीपक कार्कीले वडा खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । प्रमुख अतिथि कार्कीले झापालाई सरसफाइमा समेत नमूना बनाउनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख रोहितकुमार साहले वडा नं. ९ खुल्ला दिसामुक्त अवस्थामा रहेको र बाँकी वडाहरुलाई समेत चैत्र मसान्तभित्रै खुल्ला दिसामुक्त गर्नेगरी अभियान अगाडि बढाइएको जानकारी दिनुभयो ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोदप्रसाद शर्माले योजना बनाएर आँट गरे सफल भइने भन्दै माटोको माया गरेर गौरादह र झापाको इज्जतको लागि चैत्रभित्र खुल्ला दिसामुक्त गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रतिनिधि रुद्रबहादुर न्यौपानेले सबैको सामुहिक प्रयासबाट मात्र समुदायलाई खुल्ला दिसामुक्त बनाउन सकिने बताउनुभयो ।

वडा नं. ३ का अध्यक्ष गजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सरसफाइ अभियानमा सहयोग गर्ने अभियानकर्ताहरु, टोल सुधार समितिका संयोजकहरु लगायतलाई सम्मान गरिएको थियो ।
दृष्टिविहिन राम लक्ष्मण बने नायक
गौरादह नगरपालिका, वडा नं. ३ लाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यमा नायक बन्नुभयो दृष्टिविहिन राम र लक्ष्मण भुजेल । उहाँहरुको घरमा सुरक्षित शौचालय थिएन । त्यसैले असुरक्षित शौचालय प्रयोग गरिरहनुभएको थियो । समुदाय मिलेर बनाइदिएको घर भए पनि शौचालय नभएका कारण वडा खुल्ला दिसामुक्त घोषणा गर्न रोकिएपछि अभियानकर्ताहरु मिलेर शौचालय बनाइदिएको अभियानकर्ता रमा निरौलाले जानकारी दिनुभयो ।

घोषणा समारोहमा पुगेका राम लक्ष्मणले वडा खुल्ला दिसामुक्त घोषणा हुँदा आफूलाई खुशी लागेको बताउनुभयो । “हामीले गरेको कामका कारण हाम्रो वडा पहिलो भयो भन्ने सुन्न पाउँदा खुशी भयौं”, दाइ राम भुजेलले भन्नुभयो, “खुल्ला दिसामुक्तका कर्मचारीले नबनाएको भए हाम्रो त क्षमता नै थिएन ।”

वडाले निर्माण सामग्री सहयोग गरेर अभियानकर्ताहरुले शौचालय बनाइदिए पनि उहाँहरुको घरमा पानीको श्रोत भने छैन । “तपाईहरुले हाम्रो घरमा धाराको व्यवस्था गरिदिनका लागि मेयर सापलाई भनिदिनुस् न, है”, अभियानकर्ताहरुलाई भाइ लक्ष्मणले अनुरोध गर्नुभयो, “चर्पी बनाउन नसक्नेहरुलाई सहयोग गर्ने नगरपालिकाले पानी पिउन नपाएकाहरुलाई पनि सहयोग गर्छ होला नि ।”


898 पटक हेरिएको 

