रेजिना गौतम, झापा : झापा कमल गाउँपालिका वडा नम्बर–१ शरणपाडाका प्रेम सापकोटाले कंक्रिट रिङ प्रयोग गरेर शौचालय बनाउनु भएको छ । उहाँकै भनाईमा शौचालय निर्माण गरेको १० वर्ष भयो । १० वर्ष अघि बनाइएको ‘अफ सेट’ प्रकृतिको शौचालय अहिले फुटेर प्रयोग गर्न नसकिने भएपछि सापकोटा अर्को शौचालय निर्माण गर्ने सोचमा हुनुहुन्छ ।

जतिबेला सापकोटाले शौचालय निर्माण गरे त्यतिबेला अतिकतिमात्रै ध्यान पु¥याएको थियो भने वर्षौ टिक्ने शौचालय एकदशकै फेर्नुपर्ने थिएन । तर निर्माणताका उक्त प्राविधिक पक्ष आफूलाई थाहै नभएको सापकोटाले बताए । उनले भने, ‘त्यतिवेला केही थाहा भएन, अर्को बनाउनै पर्ने भयो ।’
कमल गाउँपालिकामा प्राविधिक पक्षलाई ध्यान नदिइ शौचालय बनाउने सापकोटा एक प्रतिनिधि पात्र मात्र हुन् । गाउँपालिकामा निर्माण गरिएका ‘अफसेट’ प्रकृतिका अधिकांस शौचालयको समस्या एउटै देखिएको छ । रिङ र घपनी जडान गर्दा ध्यान पु¥याइएको छैन भने दोस्रो कंक्रिटयुक्त रिङ खुल्ला छ। शौचालय निर्माण गरिएका अघिकांश शौचालयका रिङ माटोले छोपिएका छैनन् । अफ सेट प्रकृतिको शौचालयमा दिसा जम्मा हुने रिङ छोपिएका भएपनि पेनसेटमा जोडिएको रिङ खुल्लै छन् ।

रिङ नछोपिएका कमल गाउँपालिका मात्र होइन । कचनकवल गाउँपालिकाको अवस्था पनि त्यस्तै छ । दुवै स्थानीय तहमा निर्माण गरिएका ‘अनसेट र अफसेट दुवै प्रकृतिका पेन अर्थात प्रोटोटाइप स्ल्यावमा जडित रिङ जमिनको सतह भन्दा निकै (डेढदेखि दुई अढाई फुटसम्म) उच्चा ठाउँमा राखिएका छन् । यसरी बनाइएका चर्पीमा दिसा–पिसाब जान बालबालिका र बृद्धबृद्धालाई कठिन देखिन्छ ।
यसले बालबालिकालाई दिसा–पिसाब चर्पी मै गर्नुपर्छ भन्ने बानी बस्न कठिन छ । कचनकवलमा दिसा जम्मा हुने खाल्डोमा लगाइएको रिङ पुरिएको भएपनि पेन सेट जडित रिङ भने छोपिएका छैनन् । अभियानमा जुटेका अभियान्ताहरुले पनि रिङ सुरक्षितका बारे सबैलाई जानकारी दिन सकेका छैनन् ।
अफसेट चर्पी बनाउने क्रममा प्यान राख्नका लागि प्लेटफार्मको सट्टा जमिनमाथि एउटा रिङ राखेर त्यसमा नै प्यान सेट गरी पाइपबाट दिसा खाडलमा जम्मा हुने बनाउने प्रविधि छिटो र सहज भएकोले मूलतः आपतकालीन अवस्थामा प्रयोग गरिने भए पनि अहिले सबैजसो घरायसी चर्पीमा यही प्रविधि प्रयोग गरिएको भेटिन्छ ।
प्यान सेट गर्दा जमिनमाथि रिङ राखेर सेट गर्नुभन्दा पनि जमिनमाथि प्लेटफार्म उठाएर सेट गर्नु दिगो, सजिलो र सुरक्षित भएको बताउँछन् खुल्ला दिसामुक्त अभियानमा सहयोग गरिरहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्मा ।
“सहजीकरण गर्ने निकायले प्राविधिक पक्षमा ध्यान पु¥याउन नसक्दा उत्तिकै खर्च गरेर पनि कमसल चर्पी बनिरहेका छन्”, शर्मा भन्छन्, “रिङमा प्यान सेट गर्दा सजिलो हुने भएकोले यो प्रविधि मिस्त्रीको पनि रोजाइमा छ । जोखिम बढी हुँदाहुँदै पनि यसैगरी बनाउन मिस्त्री बानि परेका छन् ।”

त्यसो त, खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने निकायहरुले उपयुक्त प्राविधिक विकल्पको बारेमा कुरा नगरेका भने होइनन्। “खुल्ला स्थानमा दिसा पिसाव गर्नेहरुलाई चर्पीसम्म पु¥याउनु नै फलामको च्युरा चपाउनुजस्तै बनेको छ”, केचनाका सरसफाइ सहजकर्ता श्रवण गणेशको अनुभव छ, “त्यसैले हामीले जानेर पनि प्रविधिमा ध्यान पु¥याउन सकेका छैनौं ।”
यही कुरा स्वीकार्छन् सहारा नेपालका खुल्ला दिसामुक्त अभियान संयोजक किसन गौतम । “सुरुका दिनमा हामीले उपयुक्त प्राविधिक सहजीकरण गर्न नसकेकै हो”, गौतमको भनाइ छ, “पछिल्ला दिनमा हामीले पनि प्रविधिमा ध्यान दिन थालेका छौं ।”
अहिले खुल्ला दिसामुक्त हुन बाँकी झापाका सबै स्थानीय तह अहिले खुल्ला दिसामुक्त बनाउने अभियानमा जुटेका छन् । स्थानीय तहका शौचालय बिहिन घरहरुमा शौचालय बनाउने र बनाउनुपर्छ भनेर जागरुक गराउने कार्य जारी छ ।
शौचालय बनाउने कार्य जारी रहँदा शौचालयको दिगोपनलाई ध्यान सके अनेक प्रयासका बाबजुद निर्माण गरिएका शौचालयको आयु जतिसक्दो लामो होस् भन्ने भएपनि रिङ माथि देखियो भने त्यसको आयु कम हुन्छ भन्ने आफूले पनि धेरै पछिमात्र थाहा पाएको कमल गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष केदार कटुवालले बताए ।
उनले भने, “प्राविधिक पक्षमा जानकारी नपाउँदा हामीले पनि चर्पी बनाउने काम मिस्त्रीको जिम्मामा छोडिदियौं, उनीहरुलाई चर्पीको किसिम र चर्पी बनाउने क्रममा हुन सक्ने कमजोरीको बारेमा बताउन सकेनौं ।”
रिङमाथि प्यान सेट गर्दाका जोखिमहरु
रिङ गोलो भए पनि रिङमाथि बनाइने माथिल्लो संरचना गोलो हुँदैन । त्यसैले, रिङको वरिपरी चार कुनामा खाली भाग रहन्छ, जसमा वर्षा याममा झार पलाउने र त्यहाँ सर्प, लामखुट्टेजस्ता हानीकारक जीव रहने भएकोले चर्पी प्रयोगकर्तालाई सधैं जोखिम हुन्छ । एउटा रिङभित्र प्यान सेट गर्दा त्यहाँ चर्पीमा प्रयोग गर्ने पानी राख्ने पनि पर्याप्त ठाउँ हुँदैन । जमिनमाथि रिङ राखेर त्यसमा प्यान सेट गर्दा बालबालिका र वृद्धवृद्धालाई प्यानको सतहसम्म पुग्नका लागि सिंढी राख्नुपर्ने हुन्छ ।

अर्कोतर्फ प्यान सेट गरिएको रिङ बनाउँदा बीचमा फलामको रड नराखिने र यसमा घाम पानी परिरहने हुनाले छिटो फुट्ने जोखिम समेत रहन्छ ।
झापा जिल्लामा अनसेट र अफसेट दुबै प्रकृतिका चर्पी बनाइएका छन् । तल दिसा जम्मा हुने खाडल र त्यसको सिधै माथि प्यान जोडिएको स्ल्याब राखेर बनाइएको चर्पी अनसेट चर्पी हो ।
“यदि अनसेट चर्पीमा माथिल्लो रिङ बाहिर देखिएको छ भने फुट्ने जोखिम झनै बढी हुन्छ”, जिल्ला संयोजक शर्मा भन्छन्, “एकातर्फ प्यान सेट गरिएको र पाइपबाट दिसालाई खाडलमा जानेगरी बनाइएको चर्पी अफसेट चर्पी हो, यसमा जोखिम अलिक कम हुन्छ ।”
चाहे अनसेट होस् वा अफ सेट, जमिनमाथि रिङ राखी त्यसमा प्यान सेट गर्दा केही सजिलो देखिए पनि यसका फाइदाभन्दा बेफाइदा बढी छन् । झापालाई तोकिएको मितिमा खुल्ला दिसामुक्त घोषणा गर्नका लागि आपूर्ति पक्षको अभाव भैरहेको समयमा प्यान सेट गर्दा प्रयोग हुने १९ हजार रिङले करिब ३ हजार ५ सय घरमा चर्पीको खाडलमा राख्न पुग्छ, जुन जिल्लाको अभियाननको सहयोगी पनि हो ।
अर्कोतर्फ, शौचालय हुँदै नभएका र मापदण्ड विपरित अस्थायी रुपमा बनाइएका चर्पी निर्माणाधिन अवस्थामा छन् । निर्माणका क्रममा रहेका चर्पी निर्माणको प्राविधिक पक्षलाई प्रयोगकर्ता स्वयम्ले ध्यान दिन जरुरी छ ।
सामान्य बिबेक पु¥याउने मात्र हो भने संभावित समस्या सहज समाधान हुने देखिन्छ । साथै शौचालय निर्माणको अभियानमा जुटेकाहरुले पनि निर्माणाधिन अवस्थामा रहेका शौचालय निर्माणकर्तालाई सुझाव दिन जरुरी छ । ता कि अहिले मेहनत गरेर निर्माण गरिएका चर्पी पुनः २ वर्षपछि समस्याग्रस्त नबनुन् ।


1285 पटक हेरिएको 

