
काठमाडौ : सिनियर डिभिज्नल इञ्जिनियर प्रेम कृष्ण श्रेष्ठले २९ मार्चका दिन साँझ ६ बजेतिर फेसबुकमा एउटा स्टाटस पोष्ट गर्नुभएको थियो ‘SACOSAN – VII मा नेपालको तर्फबाट गौरवपूर्ण र दमदार सहभागिता जनाउने योजना/सपना करिब करिब तुहियो ।’
यो स्टाटसलाई लिएर धेरैले अनेकन अड्कल गरे पनि सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलनमा नेपालको तर्फबाट सरकारी प्रतिनिधित्व नहुने लगभग निश्चित भइसकेको रहेछ भन्ने कुरा अहिले पुष्टि भएको छ ।
स्रोतका अनुसार तत्कालीन खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरको विदेश मोह र सम्मेलनको औचित्यका विषयमा क्याविनेटलाई बुझाउन नसक्दा दक्षिण एसियाली सरसफाइ सम्मेलनमा सरकारको प्रतिनिधित्व शून्य हुने अवस्था आएको हो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं सहसचिव अनिल भद्र खनालको नेतृत्वमा करिब ३७ जना सरकारी टोलीको नाम सचिव समक्ष पेश हुँदा सचिव ठाकुरले आफ्नो नाम पनि भ्रमण दलको सूचीमा थपेपछि लफडा शुरु भएको हो ।
सचिव संलग्न हुने भ्रमणलाई क्याबिनेटबाट स्वीकृत गराउनुपर्ने भएपछि उक्त प्रस्ताव क्याबिनेटमा लगिएको थियो । तर सचिव ठाकुरले क्याबिनेटमा समेत सम्मेलनमा भाग लिनुको औचित्य पुष्टि गर्न नसकेपछि स्वीकृत नभएको सम्मेलनमा भाग लिन गएका एक सहभागीले बताए ।
‘क्याबिनेटमा सचिवले के भनेछन् भने नेपालका धेरैजसो गाउँपालिका, नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन्, त्यसमा कटिबद्ध भएर काम गर्ने कर्मचारीलाई तारिफ स्वरुप दक्षिण एसियाली सरसफाइ सम्मेलनमा भाग लिन पठाउँदैछु’ त्यसो भनेर पनि हुन्छ ? औचित्य नै पुष्टि गर्न नसकेपछि क्याबिनेटबाट स्वीकृत गराउने कुरा पनि भएन अनि अहिलेको अवस्था आयो’ ती सहभागीले भने ।
अन्तिम बल पनि यसरी तुहिएको थियो
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाउने निर्देशन जारी गरेपछि सम्मेलनमा सरकारी प्रतिनिधित्व हुने कमै आशा थियो । तर परराष्ट्र मन्त्रालयको स्वीकृतिमा सह सचिव तहको कर्मचारीको नेतृत्वमा सम्मेलनमा सहभागी हुन सकिने सम्भावना पनि कायमै थियो ।
सम्मेलनमा भाग लिन जाने सरकारी टोलीको नाम स्वीकृत गराउन अन्तिम दिनसम्म पनि दौडधुप जारी नै रह्यो । परराष्ट्र स्रोतका अनुसार पाँच जना सम्मको टोलीको नाम सिफारीस गराउन सकिने जनाउ दिएपनि जम्बो टोलीबाट पाँच जनाको नाम मात्र अटाउन नसक्दा सरकारी प्रतिनिधित्वको प्रयास असफल भएको हो ।
‘खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरे आउनुभएको थियो, पाँच जनाको नाम लिएर आएमा सिफारीस गराउन सकिन्छ भनेर त पठायौं तर उहाँले पनि पाँच जनाको नाम ल्याउन सक्नुभएन, सायद ठूलो टोलीबाट पाँच जनाको मात्र नाम सिफारीस गर्न गाह्रो भयो होला ?’ ती अधिकारीले भने ।
सम्मेलनमा सरकारी टोलीको प्रतिनिधित्व नभएपनि पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीको नेतृत्वमा सहभागी हुने भएको छ ।
सरसफाइको क्षेत्रमा दक्षिण एशियाको गति बढाउने, सरसफाइ क्षेत्रका समस्याहरुको पहिचान गर्ने र रणनीति तयार गर्ने उद्देश्यले दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश, भुटान, भारत, अफगानिस्तान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ८ देशले हरेक दुई दुई बर्षको अन्तरालमा पालैपालो सम्मेलनको आयोजना गर्दै आएको छ । सन् २००३ मा बङ्गलादेशबाट थालनी भएको सम्मेलन को पाँचौं संस्करण नेपालले आयोजना गरेको थियो ।
भोलिदेखि पाकिस्तानको इस्लामाबादमा हुन गइरहेको सम्मेलन सातौं सरसफाइ सम्मेलन हो ।


919 पटक हेरिएको 

