काठमाडौ : दक्षिण एसियाली सरसफाइ सम्मेलनमा नेपाल सरकारको तर्फबाट भाग नलिदा नेपाल पाकिस्तान सम्बन्धमै प्रश्न उब्जिन थालेपछि सरकारी टोलीले भाग लिने भएको छ ।
नेपाल सरकारले सरसफाइ सम्मेलनमा भाग नलिनुको कारण खुलाएर पाकिस्तान सरकारलाई जानकारी गराउनुपर्ने वा सरकारी टोलीले नै भाग लिनुपर्ने कुरा पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले नेपाल सरकारको उच्च तहमै जानकारी गराएपछि सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक अनिल भद्र खनालको नेतृत्वमा तीन सदस्यीय टोली सम्मेलनमा भाग लिन पठाउने भएको हो ।
समितिमा खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरे र सिनियर डिभिज्नल इन्जिनियर प्रेमकृष्ण श्रेष्ठ हुनुहुन्छ । उहाँहरु आजै दोहा हुँदै पाकिस्तान जाँदै हुनुहुन्छ ।
यसअघि नै खनाललाई सम्मेलनको लागि फोकल पोइन्ट र खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिज्नल इञ्जिनियर श्रेष्ठलाई सहायक फोकल पोइन्ट तोकेको थियो । यसअघि सरकारको तर्फबाट भाग नलिने जनाएपछि विकास साझेदार, सरकारी तथा गैरसरकारी संस्था, दातृ निकायको टोली सम्मेलनमा भाग लिन पाकिस्तानको इस्लामाबाद पुगिसकेको छ ।
सरकारले सम्मेलनमा भाग लिने टोली नपठाए पनि पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालको नेतृत्वमा भाग लिन परिपत्र गरिसकेको थियो । सरकारले सम्मेलनमा भाग नलिनुको कारण नखुलाएपछि अनेकौं कोणबाट व्याख्या विश्लेषण हुन थालेको थियो ।
सम्मेलनमा नेपालले भाग नलिनुलाई भारतीय पक्षको आग्रह र नेपालको समर्थनसँग जोडेर हेर्न थालेको नेपालको सरसफाइ वृत्तमा चर्चा हुन थालेको थियो । तर नेपालले भने यसलाई आफ्नो खर्चसँग जोडेर व्याख्या गर्न थालेपछि सम्मेलनमा भाग लिन लाग्ने खर्च पाकिस्तान सरकारले नै व्यहोर्ने सम्मको जवाफ दिएको अनौपचारिक स्रोतले जनाएको छ ।
राजदूतको निरन्तरको दबाब र सम्मेलनमा भाग नलिंदा नेपाल र पाकिस्तानको कुटनीतिक सम्बन्धमै असर पुग्ने अवस्था आएपछि सरकारले सहसचिव अनिल भद्र खनालको नेतृत्वमा भाग लिन पठाउने भएको हो ।
सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन आजदेखि पर्सिसम्म पाकिस्तानको इस्लामावादमा हुँदैछ ।


753 पटक हेरिएको 

