खेम शर्मा वन तथा वातावरण मन्त्रालयको अवैतनिक सल्लाहकारमा नियुक्त

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट सरसफाइ अभियन्ता शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त गर्नुभएको हो ।

वन तथा वातावरण मन्त्रालयबाट हालै तयार गरी कार्यान्वयनमा ल्याइएको ‘नेपाल स्वच्छ’ वातावरण महाअभियान–२०७५ तर्जुमाको क्रममा पु-याउनु भएको सहयोग स्वरुप उहाँलाई सो पदमा अवैतनिक हैसियतमा नियुक्त गरिएको हो ।

उहाँलाई उक्त अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने प्राविधिक सल्लाह, समन्वय, स्रोत पहिचान र अभिलेखीकरणको कार्यमा सहयोग पु-याउनुपर्ने कार्यक्षेत्र तोकिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सरसफाइ अभियन्ता शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ क्षेत्र तथा पछिल्लो समयमा वीर अस्पतालको सफाइ स्वयंसेवी रुपमा गर्नुभएको छ ।

अष्ट्रेलियामा खेम्स क्लिनिङ कम्पनीको स्थापना गरी विगत एक दशकदेखि सफाइ क्षेत्रमा कार्यरत शर्माले हाल नेपालमा सरसफाइको क्षेत्रमा स्वयंसेवी रुपमा काम गरी सफाइका लागि सीप हस्तान्तरणको काम गर्दै आउनुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार