परामर्श सेवाको नाममा मेलम्चीले उडायो ५ अर्ब बढी रकम

  लिखिता बराल  1395 पटक हेरिएको

काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमा नाघेर परामर्श सेवामा अधिक खर्च गरेको पाइएको छ । मेलम्ची खानेपानी आयोजना निर्माणका लागि २०७४ माघ सम्ममा खर्च भएको २४ अर्ब ८३ करोड ६० लाख रुपैयाँ मध्ये परामर्श सेवामा मात्र ५ अर्ब २१ करोड ५५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्चको २१ प्रतिशत हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २९ मा सम्बन्धित निकायमा उपलब्ध जनशक्तिबाट गराउन नसकेको काममा मात्र परामर्श सेवा खरिद गर्न सक्ने प्रावधान छ । महालेखापरीक्षकको कार्यालयले, मेलम्चीले परामर्श सेवामा खर्च गरेको रकम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास भन्दा धेरै बढी भएको र आयोजना सञ्चालनमै गम्भीर समस्या रहेको भनेको छ ।

कार्यालयले तयार पारेको ५५ औं प्रतिवेदन अनुसार मेलम्चीले कुल लगानीको ७०.८४ प्रतिशत मात्र निर्माण कार्यमा खर्च गरेको छ । यस्तै जग्गाको मुआब्जा वितरणमा ४.१२ प्रतिशत, सुरक्षामा ०.५५ प्रतिशत, कार्य सञ्चालनमा २.९० प्रतिशत, सवारी साधन र उपकरण खरिदमा ०.१८ प्रतिशत खर्च भएको छ ।
तालुक मन्त्रालय खानेपानी मन्त्रालयले समेत मेलम्चीको परामर्श सेवाको खर्च न्यूनीकरण र समयमै काम सकाउन तदारुकता नदेखाएको महालेखापरीक्षकको कार्यालयले औल्याएको छ ।

विभिन्न समयमा मेलम्चीको पानी काठमाडौ ल्याउने समय तोक्दै आएको सरकारले पछिल्लो पटक असोजमा ल्याउने भाखा राखेको छ । तर अहिलेकै काम गराईले असोजमा समेत मेलम्चीको पानी काठमाडौको बासिन्दाले पिउन पाउनेमा शंका व्यक्त गरिदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार