सरसफाइमा यसरी नमुना बनाईदैछ, भरतपुर अस्पताललाई

चितवन : चितवनको भरतपुर अस्पताललाई एक महिनाभित्र सरसफाइमा नमुना बनाईने भएको छ । अस्पतालको फोहोर दुर्गन्ध हटाएर आगामी एक महिनाभित्र सरकारी अस्पताल मध्येकै नमुना अस्पताल बनाउने गरी काम शुरु भएको छ । सरसफाइमा नमुना अस्पताल बनाउन एन आर एन क्लिन नेपाल र खेम्स क्लिनिङ सर्भिसेस प्रा.लि.को सहकार्यमा सोमबार देखि अस्पतालको सरसफाइ गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रवीन खड्काले जानकारी दिनुभयो ।

अस्पताललाई अत्याधुनिक प्रविधिबाट सरसफाइ गरेर एक महिनामा नमूना अस्पताल बनाइने खेम्स क्लिनिङका प्रमुख सञ्चालक अधिकृत विराज अधिकारीले बताउनुभयो ।

 

सरसफाइका क्रममा अस्पतालको भूइँ, भित्ता, भ-याङ, सिसा, शौचालय, सोफा, अन्य उपकरण, विद्युतीय सामग्री, पाइप लाइन, सबै सफा गरिने उहाँले जानकारी दिनुभयो ।

यसअघि पुरानो तरिकाबाट सरसफाइ भइरहेकोमा अहिले नयाँ र अत्याधुनिक प्रविधि प्रयोग गरिएको र अस्पतालको काममा बाधा नपर्ने गरी रातको समयमा सरसफाइ गरिएको उहाँले बताउनुभयो ।

अस्पतालको फोहोर तथा शौचालय र अव्यवस्थित ढलका कारण यसअघि विरामीको वार्डमा समेत दुर्गन्ध फैलिने गरेको थियो । एक महिनापछि अस्पताल छोड्दा १५ जना कर्मचारीलाई विज्ञ बनाउने र दुर्गन्ध रहित अस्पताल बनाउने अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।

अस्पतालमा हाल १२ सरकारी, ३० अस्पताल विकास समितिका र ८९ ठेकेदार कम्पनीका सरसफाइ कर्मचारी छन् । ती मध्ये १५ जना सरसफाइ कर्मचारी खेम्स अहिले भइरहेको सरसफाइमा क्रियाशील छन् ।

अष्ट्रेलियाको कम्पनीसँग सहकार्य गरेको यस समूहले यसअघि वीर अस्पताल र अन्तराष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर समेत सरसफाइ गरिसकेको छ ।
६ सय शैयाको भरतपुर अस्पतालमा दैनिक एक हजार ५ सय जना विरामी बहिरंग सेवाका लागि आउने गर्दछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार