सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई………..

  दिक्पाल गिरी  2842 पटक हेरिएको

‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो …….।’  गायक कृष्ण विक्रम थापाको यो गीत सुनेर सिन्धुलीगढी दरबार हेर्ने धोको धेरै बर्ष अघि नै पलाएको थियो । काठमाडौ – बर्दिबासको यात्रा गर्दा त्यही बाटो भएर धेरै पटक आउजाउ गरे पनि सिन्धुलीगढी दरबार हेर्ने धोको भने कहिल्यै पूरा भएको थिएन ।

कहिले सार्वजनिक गाडीमा, कहिले कार्यालयकै गाडीमा आवातजावत गरेपनि कहिले समय अभाव, कहिले टीम नमिल्दा सिन्धुली पुगेर पनि सिन्धुलीगढी दरबार हेर्नै पाएको थिएन ।

धेरै लामो समय अघिको जिज्ञासा यसपाली भने सिन्धुलीगढीमै पुगेर मेटाएँ । तर गायक कृष्ण विक्रम थापाले भने जस्तो सिन्धुलीगढी दरबार त देख्नै पाइन । दरबारको अवशेष हो कि झैं लाग्ने ठाउँमा पनि केही स्तम्भ, पर्खाल र यत्रतत्र छरिएको फोहोर मात्र पाएँ ।

सिन्धुलीगढी क्षेत्रमा प्रवेश गर्ने वित्तिकै फोहोरले स्वागत गर्दोरहेछ । जथाभावी फोहोर फाल्न नपाइने र निश्चित ठाउँमा मात्र फोहोर फाल्ने सूचना जारी गरेको भएपनि गढी हेर्न जानेहरुले फ्याँकेको पानीको बोतल, चाउचाउ तथा विस्कुट र ड्राई फुडका खोलले सिन्धुलीगढी ढाकिन थालेको रहेछ ।

बस नै रिजर्भ गरेर गढी हेर्न जाने र पिकनिक खान जाने मानिसको चहलपहल गढीमा भइरहँदो रहेछ । गढीको बारेमा सूचना दिने केही प्लेटहरु बाहेक यसको ऐतिहासिक पक्षबारे जानकारी दिने मानिसको अभावमा गढी हेर्न जानेहरु पनि आँखाले देखेजत्ति दृश्य मात्र अवलोकन गरेर फर्किन बाध्य भएको देखें ।

सिन्धुलीगढीको थोरै प्रचारप्रसार र संरक्षणका बीच पनि धेरै मानिसहरुको आकर्षणको केन्द्र बनेको सिन्धुलीगढीको संरक्षणका लागि समिति बनाएर यसको प्रचारप्रसार, संरक्षण र सुन्दरतालाई ध्यान दिन सके आगामी दिनमा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।

 

तर सिन्धुलीगढीलाई अहिलेकै अवस्थाबाट गुज्रन दिने हो भने सिन्धुलीगढी क्षेत्र घुम्न जाने मानिसहरुले फालेको फोहोरले कुरुप बन्दै जाने निश्चित छ । त्यसपछि फोहोरले भरिएको सिन्धुलीगढीको बदनाम हुँदै जानेछ । पर्यटकहरुमा नकारात्मक सन्देश फैलिन गई अहिले आउने गरेका मानिसहरु समेत ऐतिहासिक सिन्धुलीगढी देखि विमुख हुनेछन् ।

 

त्यसैले सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाको एक्लो प्रयासले मात्र पुग्दैन । सिन्धुलीगढी संरक्षणका लागि पुरातत्व विभागको पनि ध्यान जान जरुरी छ । त्यसपछि स्थानीय स्तरमा संरक्षण समिति गठन गरी त्यही समितिले गढी घुम्न आउनेहरुलाई प्रवेश शुल्क लिने, त्यसभित्रका ऐतिहासिक पुरातात्विक स्थलहरुको बारेमा जानकारी गराउने र जथाभावी फोहोर फाल्न नदिने हो भने मात्र गढीको एतिहासिकता जोगाएर राख्न सकिन्छ । होइन भने भोलिको पुस्ताले सिन्धुलीगढी सिन्धुलीगढीको रुपमा पाउने छैनन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार