कास्की : प्लास्टिकको प्रयोगबाट हुने वातावरणीय असरलाई कम गर्न प्लास्टिक झोलाको उत्पादनमै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्न थालेको छ । वातावरणको क्षेत्रमा कार्यरत संघसंस्थाको लागि प्लास्टिकको अनियन्त्रित प्रयोग टाउको दुखाईको बिषय बनिरहेका बेला पोखराको फोहोर व्यवस्थापनमा काम गर्दै आएकोे ग्रीन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीले भने प्लास्टिक पेलेर सडक कालोपत्रे गर्ने प्रविधि भित्र्याएको छ । कम्पनीले हालै पोखरा महानगरपालिकाको वडा नं. १४ को सडक कालोपत्रे गराएर प्लास्टिकबाट सडक कालोपत्रे गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् ।
ग्रीन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीले केही समय अघि मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक कालोपत्रे गर्ने प्रविधिबारे तालिम लिन भुटान पठाएको थियो । उनीहरुले त्यहाँ प्लास्टिकलाई पेलेर सडक कालोपत्रे गर्ने सम्बन्धी एक हप्ते तालिम लिएर फर्केपछि नेपालमा यसको परीक्षण गरिएको हो ।
‘हामी कहाँ अध्ययन अनुसन्धान नभएर मात्र हो, भारतमा सन् २००१ देखि नै प्लास्टिकबाट कालोपत्रे गर्न थालिएको रहेछ, १६ वर्षको बीचमा भारतमा १ लाख किलोमिटर सडक यही प्रविधिबाट निर्माण भइसकेको रहेछभ । हामी कहाँ गर्दा किन हुँदैन भनेर प्रयोग गर्न थालेका हौं’ कम्पनीका संस्थापक विमल बसेलले भन्नुभयो ।
उहाँका अनुसार अनुसार भुटान, अस्ट्रेलिया लगायतका देशमा पनि यो प्रविधिबाट सडक कालोपत्रे भइरहेकोक छ ।
कम्पनीका इन्जिनियर राजीव सुवेदीका अनुसार एक सय मिटर सडक कालोपत्रे गर्न ३ सय किलो प्लास्टिक आवश्यक पर्छ । त्यसमा करिब ८५ प्रतिशत अलकत्रको मात्रा मिलाइन्छ । त्यसपछि बिटुमिन, प्लास्टिक, बालुवा, चिप्सलाई मिसाएर पकाइने अर्का इन्जिनियर बिमल बास्तोलाले जानकारी दिनुभयो ।
प्लास्टिकका कारण हुने वातावरणीय असर कम हुने
प्लास्टिकको प्रयोगबाट सडक कालोपत्रे प्रविधि सञ्चालनमा ल्याउन सकेमा प्लास्टिकका कारण हुने वातावरणीय असर न्यूनीकरण हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार गुड्का देखि चाउचाउका खोल तथा प्लास्टिक झोलाहरु पनि प्रयोगमा ल्याउन सकिन्छ । एक किलोमिटर सडक कालोपत्रे गर्न एक टन प्लास्टिकको आवश्यक पर्ने इन्जिनियर बिमल बास्तोलाले बताउनुभयो ।
‘यो प्रविधिबाट सडक कालोपत्रे गर्ने हो भने जथाभावी फालिएका प्लास्टिकहरुको व्यवस्थापन हुनेछ, फोहोर प्लास्टिकले मूल्य पाउने भएपछि मानिसले पनि जथाभावी नफाली जतन गरेर बचाएर राख्न थाल्नेछन्, यसबाट वातावरणीय असर कम गराउन सकिन्छ’ इन्जिनियर बास्तोलाले भन्नुभयो ।
कम्पनीले प्लास्टिकको प्रयोग गरी कालोपत्रे गरेको सडक अवलोकन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वातावरणमा असर पारिरहेको प्लास्टिकलाई सडक कालोपत्रे गर्न प्रयोगमा ल्याउन सके फाइदा लिन सकिने बताउनुभयो । अहिले चलिरहेको प्रबिधि र प्लास्टिकको प्रयोगबाट सडक कालोपत्रे गर्ने प्रविधि मध्ये कुन टिकाउ र भरपर्दो हुन्छ भन्ने परीक्षण गरिने मेयर जिसीले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले प्लास्टिक पोखराको समस्या बन्दै गएकाले यसको समाधानका लागि यो प्रविधिलाई अंगीकार गर्नुपर्ने बताउनुभयो ।


2016 पटक हेरिएको 

