तीन महिनापछि काठमाडौको फोहोर सडकमै थुप्रिने

काठमाडौ : सिसडोलको विकल्पमा फोहर व्यवस्थापन गर्ने अर्को व्यवस्था नगरे अबको तीन महिनापछि काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने भएको छ । सिसडोलमा फोहोर व्यवस्थापन गर्ने ठाउँ सकिएको र बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको काम सम्पन्न गर्न समेत अझै तीन बर्ष लाग्ने भएकाले तत्काल विकल्प नखोजे काठमाडौको फोहोर सडकमै थुप्रिने सम्भावना बढ्दै गएको हो ।

नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडालाई व्यवस्थित गर्न लामो समय लाग्ने फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताउनुभयो । बन्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने ज्ञवालीको भनाइ छ ।

‘बन्चरेडाँडामा दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने ठाउँ बनाउन शुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान छआवश्यक छ । सिसडोलमा करीब ४०÷५० मिटर माथि सम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना छ’ ज्ञवालीले भन्नुभयो ।

सिसडोलमा दुई वर्षको लागि मात्र फोहोर व्यवस्थापन गर्न २०६२ सालमा ल्याण्डफिल साइट निर्माण गरिएको थियो । तर अहिलेसम्म चार पटक विस्तार गरेर काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोर मध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा ल्याएर व्यवस्थापन हुँदै आएको छ ।

कहिले स्थानीय बासिन्दाको अवरोध, कहिले ल्याण्डफिल साइट जाने बाटोमा पहिरो जाँदा हुने अवरोध र कहिले सरसफाइकर्मीकै आन्दोलन लगायत कारणले काठमाडौको फोहोर व्यवस्थापनमा समस्या सिर्जना हुँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार