पोखरा : गण्डकी प्रदेशका सांसदहरूले आँधीखोलामा कुखुराको सुली फाल्नेलाई कारबाहीको माग गरेका छन् । गण्डकी प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद भागवत प्रकाश मल्लले आँधीखोलामा फालेको कुखुराको सुलीले माछा लगायत जलचर प्राणी मर्दा पनि प्रशासनले कारबाही नगरेकाले कार्वाही गर्नुपर्ने बताउनुभयो । गत वैशाख २१ गते राति स्याङ्जाको भीरकोट नगरपालिकामा रहेको खिलुङकालिका एग्रो फार्मले खोलामा सुली फालेको थियो ।
यसले गल्याङ नगरपालिकाका बासिन्दा पनि प्रभावित भएको र अनुसन्धानमा सुलीसँगै अन्य विषादी पनि रहेको खुलेकाले दोषीमाथि कारबाही गर्नुपर्ने उहाँको माग थियो । ‘कानुन अभावमा स्थानीय तहले काम गर्न नसकेकोमा प्रहरी प्रशासनले छानबिन गर्नुपथ्र्यो । तर प्रहरी प्रशासनले वास्ता गरेन,’ उहाँले भन्नुभयो ‘प्रहरी प्रशासन गम्भीर नभएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रदेश सरकार समक्ष अनुरोध गर्छु ।’
घटना छानबिनका लागि गल्याङ नगरका उपप्रमुख देवी थापाको संयोजकत्वमा बेलटारी र चिसापानी मत्स्य विकास केन्द्रका अनुसन्धानकर्मी सहितको ७ सदस्यीय समिति बनाइएको थियो । विषादी मिसिएको सुलीकै कारण नदीका सबै जलचर सखाप भएको र करिब १ करोड बराबरको क्षति भएको प्रतिवेदन समितिले बुझाएको थियो ।
घटना लगत्तै एग्रो फर्म सञ्चालक सहित ४ जनालाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रशासनले आरोपीविरुद्ध जलचर ऐनअनुसार र गल्याङ नगरपालिकाले फोहोरमैला ऐन अन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जनाए पनि छानबिन समितिको प्रतिवेदन पछि भने दुवै निकाय यस विषयमा नरम देखिएका छन् ।


1091 पटक हेरिएको 

