काठमाडौ : महिनावारी हुँदा छाउपडी गोठमा राख्ने र छुवाछुत गर्नेलाई अब कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिनावारी वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राखेमा फौजदारी अपराध ठहर हुने व्यवस्था गरेको हो ।
नयाँ कानुन अनुसार महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई ३ महिना कैद र तीन हजारसम्म जरिवाना वा सजाय र जरिवाना दुवै हुन सक्नेछ ।
यो संहिताले छाउगोठमा राख्ने र महिनावारी भएको समयमा अपमानजनक वा अमानवीय व्यवहार गर्नेलाई पनि फौजदारी अपराध मानेको छ ।
संहिताको दफा १६८ को उपदफा ३ मा महिला महिनावारी वा सुत्केरी भएको अवस्थामा छाउगोठमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु गराउन नहुने उल्लेख छ । उपदफा ४ र ५ ले यस्तो कार्यलाई सजायको व्यवस्था गरेको छ ।
महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने, छुवाछुत गर्ने र गराउने व्यक्ति सरकारी कर्मचारी भएमा थप तीन महिना कैद हुने उपदफा ५ ले व्यवस्था गरेको छ ।


1678 पटक हेरिएको 

