काठमाडौ : काठमाडौको खानेपानी वितरण प्रणालीमा दैनिक ३ करोड लिटर पानी थपिएको छ । मेलम्चीको पानी प्रशोधन गर्न सुन्दरीजलमा निर्माण गरिएको प्रशोधन प्लान्टमा सुन्दरीजलस्थित वाग्मतीको पानी प्रशोधन गरी वितरण प्रणालीमा ३ करोड लिटर पानी थपिएको हो ।
थप गरिएको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट जडान भएका ७० हजार धारामा नियमित आपूर्ति हुनेछ । केयूकेएलले दुई लाख १६ हजार धारा मार्फत खानेपानी वितरण गर्दै आएको छ ।
थप गरिएको पानीबाट महांकाल थोक वितरण केन्द्रका सेवा क्षेत्र कपन, सरस्वतीनगर, बौद्ध, जोरपाटी, चाबाहिल, हाँडिगाउँ, ज्ञानेश्वर, नक्साल, बानेश्वर, अनामनगर, पुतलीसडक, डिल्लीबजार, बागबजार, माइतीघर, त्रिपुरेश्वर र नयाँ सडक क्षेत्रका ८ लाख ४० हजार उपभोक्ता लाभान्वित हुनेछन् । त्यस क्षेत्रमा हप्तामा पाँच दिन दैनिक दुई घण्टाको दरले वितरण गरिने क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौका प्रमुख नन्द बञ्जाडेले जानकारी दिनुभयो ।
शनिबार सभामुख कृष्णबहादुर महराले महांकालस्थित थोक वितरण केन्द्रमा चाबी घुमाएर राजधानीमा थप पानी वितरणको शुभारम्भ गर्नुभयो । महांकालमा मेलम्ची खानेपानी वितरण पूर्व तयारी तथा पानी प्रशोधन केन्द्र परिक्षण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई समयमा नै सम्पन्न गर्न खानेपानी मन्त्रालयले आफू मातहतका निकायहरूलाई निरन्तर निर्देशन र प्रेरणा प्रदान गर्दै आएको बताउनुभयो ।
खानेपानी मन्त्री बीना मगरले उपत्यकावासीको पानीको सपनामा एक चरण उपलब्धी प्राप्त गरेको बताउनुभयो । खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने कार्य करिब अन्तिम चरणमा पुगेपनि त्यसअघि नै सुन्दरीजलबाट बाग्मतीको पानी राजधानीका ७० हजारभन्दा बढी धारामा साताको पाँच दिन वितरण गरिने बताउनुभयो ।
कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीहरुले पानी प्रशोधन प्रणालीका बारेमा सभामुख र मन्त्रीलाई बिस्तृत जानकारी गराएका थिए ।



1820 पटक हेरिएको 

