हेटौंडाको फोहोर व्यवस्थापनको मोडल : गुणमा आधारित बर्गीकरण, बारमा आधारित संकलन

मकवानपुर : फोहोरमैला व्यवस्थापनको काम हरेक नगरपालिकाहरुका लागि चुनौतीपूर्ण बन्दै गएको बेला कतिपय नगरपालिकाले फोहोरमैलालाई स्रोतको रुपमा उपयोग गरिरहेका छन् । यस्तै नमुना मध्येमा पर्छ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका । फोहोरको उचित व्यवस्थापन गरेबापत तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पटक पटक पुरस्कृत भइसकेको हेटौडा नगरपालिकाको फोहोर व्यवस्थापनको मोडल साँच्चिकै अरुका लागि समेत अबलम्बन गर्न योग्य छ ।

 

फोहोरको गुणको आधारमा बर्गीकरण गर्ने र बारको आधारमा संकलन गर्ने प्रणाली नै हेटौडाको फोहोर व्यवस्थापनको सफल शुरुवात हो । हेटौडाले कुहिने र नकुहिने फोहोरको बर्गीकरण गरी आइत, सोम, बुध, बिही र शुक्रबार कुहिने र मंगलबार तथा शनिबार नकुहिने फोहोर संकलन गर्दै आएको उपमहानगरपालिकाका प्रबन्धक बीके महर्जनले बताउनुभयो ।

 

 

घरघरबाट संकलित फोहोर ट्रान्सफर स्टेशनमा लगिन्छ, त्यहाँ फेरि दोस्रो चरणको वर्गीकरणको काम हुन्छ । त्यहाँ स्थापना गरिएको ट्रलि सिष्टममा फोहोर एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ ।

त्यही प्रक्रियामा फोहोरमैलाका कर्मचारीले फोहोरलाई थप बर्गीकरण गर्ने काम गरिन्छ । कुहिने फोहोर जति मल बनाउन प्रयोग गरिन्छ भने बिक्री नहुने फोहोर मात्र स्यानिटरी ल्याण्डफिल साइटमा लगिन्छ ।

 

 

फोहोर व्यवस्थापनको जिम्मा क्लिन एन्ड ग्रिन सिटी सर्भिसेस प्रालिलाई दिइएको छ । प्रालिले उपभोत्ताबाट निश्चित शुल्क उठाउँछ । जुन रकम नगरपालिकाको खातामा जम्मा गर्छ । नगरपालिकाले निश्चित सेवा शर्तको आधारमा उक्त रकम रकम कम्पनीलाई नै फिर्ता गर्छ ।
फोहोर व्यवस्थापनको यो मोडलका कारण फोहोर संकलन तथा व्यवस्थापनका लागि लाग्ने लागत समेत घटेको छ ।

कुनैबेला हेटौडाको फोहोर उठाउन ७५ जना कर्मचारी खटिन्थ्यो भने अहिले २० जनाबाटै सहर सफासुग्घर राख्न सफल भएको छ, हेटौडा उपमहानगरपालिका ।

 

हेटौडाको ल्यान्डफिल साइट ओखरपौवाको जस्तो भरिएको छैन, न गन्ध नै छ, एक दिन फोहोर उठेन भनेर नगरपालिकासँग किचकिच गर्ने उपभोक्ता पनि छैनन् हेटौडामा । बरु फोहोर व्यवस्थापनमा हेटौडाको मोडल हेर्न दिनहुँजसो अरु ठाउँका अध्ययनकर्ताहरु आईरहन्छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार