सहर सफाइका लागि ५ वटा जेट मेसिन सञ्चालन

काठमाडौं : काठमाडौं महानगरपालिकाले सफाइका लागिव शनिबारबाट ५ वटा जेट मेसिन प्रयोगमा ल्याएको छ । महानगरपालिकाले विश्व सरसफाइ दिवसको अवसर पारी युरो मापदण्ड ४ बमोजिमका १३० हर्सपावर, ५ हजार लिटर क्षमताका जेट मेसिन सञ्चालनमा ल्याएको हो ।

५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् । थुनिएको ढल तानेर सानो ट्यांकीमा राखिन्छ भने ठूलो ट्यांकीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ । यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन ।

मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिने महानगरपालिकाले जनाएको छ । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिनेछ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सहर सरसफाइका लागि अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको बताउनुुभयो ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नागरिकले महसुस गर्ने गरी सफा सहर बनाउन हतार भइसकेको बताउनुुभयो ।

महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाईमा विशेष सरसफाइ कार्यक्रम अन्तर्गत रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजार सम्मको क्षेत्रमा सफाइ गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार