नुवाकोट : ‘महिलाहरु बाठी भएर भएको खानेपानी योजना पनि विगार्ने भयो अब, कसरी खानेपानी ल्याउँदो रहेछ म पनि हेर्छु’ खानेपानीको पुरानो ट्याङ्की भत्काउँदै गर्दा आफ्नै जेठाजु मान बहादुर सुनारले गरेको गाली अहिले पनि सम्झना सुनुवारको कानमा गुञ्जिरहन्छ ।
जेठाजुले रीसको झोंकमा कतै कुटिहाल्ने हो कि भनेर सम्झना कति दिन त जेठाजुको आवाज सुन्ने वित्तिकै घरभित्र पस्नुभएको थियो रे ।
खानेपानी योजना सम्पन्न गर्नका लागि यति ठूलो जोखिम मोलेका थिए ९ जनाको उपभोक्ता समितिले । जहाँ सबै सदस्यहरु महिला मात्र हुनुहुन्छ ।
महिलाहरुले नुवाकोट म्यागङ गाउँपालिका ४, किम्ताङमा बस्तीबाट ३६७ मिटर टाढा रहेको तपाङस्योङबाट खानेपानी ल्याएर घरघरै वितरण गरिएको हो । समितिले २ हजार ३०५ मिटर शाखा पाइप लाइन मार्फत ६२ घरमा खानेपानी पु-याएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष उषा गतराजले बताउनुभयो ।

किम्ताङका मानबहादुर सुनारले आत्मग्लानी भएको भन्दै भन्नुभयो ‘त्यसबेला महिलाहरुले नेतृत्व गरेको खानेपानी पिउन पाउँछौं भन्ने लागेकै थिएन, म त विदेशमा लामो समय बसेर आएको हुँ, खानेपानी प्राविधिक काम हो र महिलाहरुले गर्न सक्दैनन् भन्ने लागेको थियो, तर महिलाहरुको क्षमता विकास भइसकेको रहेछ, अहिले किन त्यसो भनेछु भनेर मलाई नै ग्लानि महसुस भएको छ ।’
गाउँमा यसअघि महिलाको नेतृत्वमा खानेपानी योजना, बाटोघाटो बनाउने जस्ता विकासको काम हुनै सकेको थिएन । त्यसैले महिलाको नेतृत्वमा शुरु भएको खानेपानी योजना निर्माण होला र पानी खान पाइएला भन्ने धेरैले सोचेकै थिएनन् । महिलै महिलाको समूहबाट खानेपानी सम्पन्न भएपछि यसको प्रभाव चौतर्फी पर्न थालेको छ ।

महिलै महिला भएको उपभोक्ता समितिसँग काम गर्दा केही कुरामा अफ्ठ्यारो भएपनि बढी जसो सजिलो भएको गेर्खुटार युवा क्लवका प्लम्बर शिवप्रसाद दुलालले बताउनुभयो ।
वैदेशिक रोजगारका लागि युवाले देश छोडदा अहिले चाहेजत्ति युवा भेटिन मुश्किल छ । हरेक काममा पुरुषको सहभागिता खोज्दा त्यस्ता बस्तीमा विकास निर्माणको काम पनि हुन सकेको छैन । तर गाउँलेकै लागि गाउँमै निर्माण हुने खानेपानी, बाटोघाटो, पुलपुलेसा महिला आफैले पनि बनाउन सक्छन् भन्ने सक्षमताको उदाहरण पेश गरेका छन् किम्ताङका महिलाले ।

युके एड र एसिएफको आर्थिक तथा प्राविधिक सहयोग र गेर्खुटार युवा क्लवको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । खानेपानी आयोजना निर्माणका लागि संस्थाको तर्फबाट १२ लाख ४५ हजार २४४ अनुदान वितरण गरिएको छ भने समुदायले २ लाख २ हजार ७१४ रुपैयाँ व्यहोरेका छन् ।



2558 पटक हेरिएको 

