समितिको बैठकमा आयोजना प्रमुखको जवाफ : मेलम्चीको पानी दुई महिनापछि

काठमाडौ : मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने बताउनुुभएको छ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मेलम्ची खानेपानीका विषययमा समितिका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै आयोजना प्रमुख कँडेलले यस्तो बताउनुुभएको हो ।

बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओली लगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा कहिले खानेपानी पाउँछन् भन्ने प्रश्न सोधेका थिए ।

कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ ।

दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको उहाँले बताउनुुभयो ।

“मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हँुदैछ”, आयोजनाका प्रमुख कँडेलले भन्नुुभयो “पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।” सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिनेछ ।

समितिका सभापति दिलकुमारी रावल थापाले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहजरुपमा पाउन् भन्ने उद्देश्यले बैठक राखिएको जानकारी दिनुुभयो ।

समितिले यही असोज १४ गते खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार