काठमाडौ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । एनआरएनएले निर्माण सुरु गरेको करिब ४ वर्षपछि ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।
सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गर्नुभयो ।
पार्क निर्माणको जिम्मा स्पेश क्राफ्ट नामक कम्पनीले पाएको थियो । ३२ रोपनी क्षेत्रफलमा पार्क बनाउन सुरुमा २ करोड रुपैयाँ खर्च हुने बताइए पनि केही संरचना थप गरिएका कारण लागत बढेर २ करोड ४२ लाख ९९ हजार १ सय आठ ४ रुपैयाँ लगानी भएको एनआरएनएले जनाएको छ ।
पार्क निर्माणका लागि हालसम्म १ करोड ५३ लाख ६८ हजार २ सय ६८ रुपैयाँ सहयोगको प्रतिबद्धता आएकोमा १ करोड १७ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ जम्मा भइसकेको छ ।
पार्क निर्माणका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५÷१५ लाख, डा. निरज गोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन् । शंखमूल पार्कमा स–साना पोखरीहरु, चौबिसै घण्टा पानी बग्ने शंखमूल धारा लगायत संरचना निर्माण गरिएको छ ।
अध्यक्ष भट्टले पार्क निर्माणमा चुनौती धेरै भए पनि आफ्नै पालामा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले एनआरएनएले अनुकरणीय काम गरेर सरकारलाई गुण लगाएको बताउनुभयो । अहिले देशमा स्थिर सरकार रहेकाले बैदेशिक लगानीको वातावरण बनेको र गैरआवासीय नेपालीले देश निर्माणमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष शेष घले तथा पूर्वअध्यक्ष जीवा लामिछानेले सामाजिक काममा एनआरएनको सँधै साथ रहने प्रतिबद्धता जनाउनुभयो ।