परासी : कावासोतीका ३० वर्षीय एलएन दवाडी बिदाको दिन बिहानै मास्क र पन्जा लगाएर कुचो र डस्बिन लिई सरसफाइमा खट्नुहुन्छ । उहाँलाई सुधन लम्साल, ओमकार घिमिरे सहितका २०/२५ जना युवायुवतीले साथ दिन्छन् ।
युवाहरूबीच अघिल्लो दिन नै सरसफाइ गर्ने स्थल र संघसंस्थासँगको सहकार्य बारे टुंगो लागेको हुन्छ । त्यही योजना अनुसार उनीहरू स्थानीयलाई समेत सहभागी गराउँदै बजार, सार्वजनिक स्थल, मठमन्दिर, खोलानाला सरसफाइमा जुट्छन् ।
बिदाको अवसर पारेर परासीका केही युवा सार्वजनिक स्थल सरसफाइ र ट्राफिक जनचेतना जगाउन जुटेका हुन् । ‘दुई वर्षदेखि यसरी नै बिदा मनाउने गरेका दवाडीले बताउनुभयो । अध्ययन र कामको समय कटाएर सुरु भएको अभियानले धेरैको मन जित्दै आएको उहाँले बताउनुभयो ।
बजार विस्तार हुँदै जाँदा सडक किनारमा फोहोर बढेको र चाडपर्वका बेला चालकले सवारी साधन तीव्र गतिमा चलाउने गरेका कारण यहाँका युवा सचेतना जगाउन जुटेका हुन् ।
अभियानले चितवनदेखि पश्चिम र पूर्वी नवलपरासीका मुख्य बजार र सार्वजनिक स्थल सरसफाइ हुन्छ । अभियानमा कावासोतीदेखि चितवन र बुटवलसम्मका एक सय युवकयुवती संलग्न छन् । बजारीकरणसँगै फोहोर व्यवस्थापन नहुँदा सहरमा चुनौती थपिँदै गएको टोलीका अर्का युवा ओमकार घिमिरेले बताउनुभयो ।
राष्ट्रिय सरसफाइ दिवसका अवसरमा दुई वर्ष अगाडि सहभागी भएका यी युवा एक दिन मात्र औपचारिक कार्यक्रम गरेर सरसफाइ गर्दैमा आफ्नो नगर तथा घर सफाइ नहुने निष्कर्षमा पुगेका थिए । त्यसपछि आपसमा छलफल गरेर बिदाको दिनलाई सफाइ र जनचेतना जगाउने काममा सक्रिय हुने अठोट गरेपछि अहिलेसम्म निरन्तर लागिरहेकाछन् ।
गाउँभन्दा सहर फोहोर छ । गाउँमा सरसफाइ वा सामाजिक काम भनेपछि स्थानीय सजिलै सहभागी हुन्छन् । तर, सहर बजारमा सामाजिक कामका लागि सहभागिता न्यून हुन्छ ।
आफ्नै पसलअगाडि सरसफाइ गर्दा पनि पसल सञ्चालक हेरेर बस्छन् । त्यस्ता पसलेलाई पनि अभियान सिकाइ भएको अभियन्ता सुधन लम्सालले बताउनुभयो । चाररपाँच जनाबाट सुरु अभियानमा अहिले एक सयभन्दा बढी युवाको सहभागिता हुने गरेको छ ।
युवाहरूको सरसफाइमा सक्रियता देखेपछि स्थानीयले दुर्घटना न्यूनीकरणका लागि पनि काम गर्न आग्रह गरे । पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड सबैभन्दा बढी सवारी दुर्घटना हुने क्षेत्र हो । यहाँ हरेक दिन सानाठूला दुर्घटना भइरहेका हुन्छन् । दुर्घटना न्यूनीकरणका लागि यिनै युवा प्रहरीसँगको सहकार्यमा सडकमा जेब्रा क्रसिङ निर्माणदेखि चालक र सडक प्रयोगकर्तालाई सचेतना जगाउने अभियानमा पनि सक्रिय भएर लागेका छन् ।