भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३५ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ ।
सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने बुढाथोकी टोल क्षेत्रको हनुमन्ते पुल र खोलामा सरसफाइ गरिएको थियो ।
अभियानमा जिल्लाका विभिन्न सङ्घ संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा अहिलेसम्म करीब ३०० टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले बताउनुभयो ।