लमजुङ : लमजुङका सांसद, जनप्रतिनिधी, स्थानीय बासिन्दा, कर्मचारी र सुरक्षाकर्मी बेंसीसहर बजारको सरसफाइमा जुटेका छन् । जनप्रतिनिधी संगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु सरसफाइमा लागेका हुन् । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले पनि साथ दिएका छन् ।
बजार सरसफाइ अन्तर्गत बेंसीसहर बजारको झिंगेखोलाको सरसफाइ गरिएको छ । बेंसीसहर नगरपालिकाको अगुवाई, जिल्ला प्रशासन कार्यालय लमजुङको समन्वयमा सरसफाइ गरिएको हो । सरसफाइ टोली बेंसीसहरको बालमन्दिरमा भेला भई विद्या विकास स्कुलदेखि माइक्रोबस काउन्टरसम्म सरसफाइ गरेका छन् ।
हातमा ग्लोब लगाएर कुचो, हसियाँ, डोको, बेल्जालगायत लिएर सरसफाइ गरेका छन् । सरसफाइको क्रममा झिंगेखोला नजिकैका घरबाट प्रयोग गरिएका कपडा, बोरा, प्लाष्टिक, भाँडा, बियरका बोत्तल, सिसा समेत भेटिएको बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
‘घरका धनी र भाडामा बस्नेहरुले कति फोहोर फालेका रहेछन् भन्ने त सफा गर्न जाँदा थाहा भो । खोलामा फोहोर फाल्ने तर, सफा हुन सकेको थिएन । हामीले त्यहाँ रहेका फोहोर सबै फालेका छौं । स्थानीयलाई पनि फोहोर नफाल्न भनेका छौं । सफा राख्नु हामी सबैको दायित्व हो’ उहाँले भन्नुभयो ।
कार्यक्रममा मात्र सरसफाइ गरिने बेंसीसहर बजार जनप्रतिनिधी र कर्मचारीले महिनाको दुई पटक सरसफाइ गर्दै आएको उहाँले बताउनुभयो । नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले सरसफाइ र फोहोर व्यवस्थापनमा महिलाको भूमिका अग्रस्थानमा रहने बताउनुभयो ।
‘हामीले सरसफाई गरेका छौं । यहाँका आमा समूहले पनि सक्रिय रुपमा लाग्नुभएको छ । हामी सबै सरसफाईमा लाग्न सके वातावरण सफा हुन्छ । रोगबाट मुक्त हुन सक्छौँ’ उहाँले भन्नुभयो । भाद्र ८ गते शुक्रबारदेखि बजार सरसफाइ गरिँदै आएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार बजार सरसफाइ गरिँदै आएको छ । नगरलाई सफा, स्वस्च्छ र हराभरा बनाउन सरसफाइ कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । ‘बजार सरसफाई त गरेकै छौं । खोलामा फोहोर थुप्रिएर साध्य थिएन । खोलामा पनि सफा गर्नुपर्छ भनेर सबै जुटका छौं’ उहाँले भन्नुभयो, ‘दुर्गन्ध राख्नु हुँदैन । आफ्नो ढोका अगाडिको फोहोर आफैं व्यवस्थापन गर्नुपर्छ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवं लमजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले बेंसीसहर बजारमा घर बढ्नु र जनसंख्या बढेकाले वरपर फोहोर व्यवस्थापन हुन नसक्दा समस्या आएको बताउनुभयो । ‘मान्छे बढे अनुसार फोहोर बढ्छ । यसको व्यवस्थापनमा हामीले ध्यान दिनुपर्छ ।
पछिल्लो समय सरसर्फामा हाम्रो ध्यान जान थालेको छ । खोलानाला सफा गर्नुपर्छ । बजार, घर वरपर सफा गरिनुपर्छ’ उहाँले भन्नुभयो । सरसफाइमा जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, समुदाय सबैको सहभागिता महत्वपूर्ण रहने उहाँले बताउनुभयो । ‘राम्रो अभियानको थालनी भएको छ । यसमा सबैको सहयोगको खाँचो छ’ उहाँले भन्नुभयो ।