खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला

मोरङ : खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला’ यो खबर सुन्दा अचम्म लागेपनि मोरङको कटहरी गाउँपालिकाले केही दिन यता खुला ठाउँमा दिसा गर्ने व्यक्तिलाई चोकमा ल्याएर माला लगाउने अभियान चलाईरहेको छ ।
खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी खुला ठाउँमा शौच गर्नेलाई माला लगाएर पठाउन थालेको हो ।

कटहरी गाउँपालिका ३ स्थित चक्रपथमा दुई दिनमा ९ जनालाई पक्राउ गरी सम्झाएर छाडेको छ । गाउँपालिकाले रिङ दिँदा पनि शौचालय बनाउन अटेर गर्दै खुला ठाउँमा दिसा गर्नेलाई सम्मान गरिएको वडा नम्बर ४ का अध्यक्ष मण्टु शेखले बताउनुभयो । सम्झाउँदा पनि अटेर गरेका कारण दिक्क भएर खुला ठाउँमा दिसा गर्नेलालाई सरम होस् भनेर यसो गरिएको उहाँले बताउनुभयो ।

मंसिर २९ गते खुला दिशामुक्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले शौचालय निर्माण अभियानलाई तीब्र पारेको छ । गाउँपालिकाले खुला दिशामुक्त क्षेत्र घोषणा गर्न प्रहरीको सहयोग लिदै आएको छ । बिहान खुला ठाउँमा दिसा गर्न जाने र फर्कने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय राखेर सम्झाउँदै पठाउने गरेको छ ।

शौचालय निर्माण गर्न दबाव दिनका लागि खुला ठाउँमा दिसा गर्नेलाई माला लगाएर पठाउने गरिएको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताउनुभयो ।

चर्पी बनाउन अटेर गरेकाहरुलाई दिसा गर्न गएकै बेला प्रहरी लगाएर पक्राउ गर्ने र दिसा गर्न जाँदै गरेकाहरुलाई भने चोकमा ल्याएर चिया नास्ता पनि खुवाउने गरिएको छ । यसो गर्दा केही लज्जित हुने गरेको र चर्पी समेत बनाउन थालेका अध्यक्ष कामतले बताउनुभयो ।

मोरङमा रहेका १७ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तह खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । खुलादिशामुक्त क्षेत्र घोषणा गर्न बाकी रहेका ५ वटा स्थानीय तहलाई मंसिर महिना भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार