काठमाडौ : संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले दशैं अघि आउँछ भनेको मेलम्चीको पानी कहाँ गयो ? अब कहिले आउँछ भनेर प्रश्न गरेका छन् । सांसदहरुले मेलम्चीको पानी काठमाडौंमा ल्याउने मिति एकीन गर्न समेत सुझाएका छन् ।
आइतबारको छलफलमा खानेपानी मन्त्री विना मगरलाई बोलाए पनि उहाँ अनुपस्थित हुनुहुन्थ्यो । मन्त्री उपस्थित नभएकाले पूर्वप्रधानमन्त्री झलनाथ खनालले आपत्ति जनाउनुभयो । ‘यति महत्त्वपूर्ण छलफलमा मन्त्री नआउनु दुखद हो’ उहाँले भन्नुभयो ।
बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताउनुभयो । तर सांसदहरुले दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना गरेका थिए ।
सांसदहरुले पानी आउने सही समय कहिले हो स्पष्ट पार्न आग्रह समेत गरेका थिए । खानेपानीमन्त्री विना मगरले दशैंको उपहार मेलम्चीको पानी भने पनि नआएको भन्दै अब कहिले आउँछ किटान गर्न सांसदहरुले आग्रह गरेका थिए ।
समितिको बैठकमा उपस्थित खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सांसद रामबहादुर विष्टले दुई महिनामा पानी आउने आधार पेश गर्न आग्रह गर्नुभयो । तर सचिव ठाकुरले खानेपानी संस्थानका महाप्रबन्धकलाई प्रस्तुत गर्न लगाएपछि सांसदहरुले आपत्ति जनाएका थिए ।


1205 पटक हेरिएको 

