राष्ट्रिय सरसफाइ समन्वय समितिको टोली मोरङका गाउँमा

जिल्लाको प्रतिष्ठाको विषय बन्यो खुल्ला दिसामुक्त घोषणा

  विनोद धौलागिरि  1868 पटक हेरिएको
🔗
4
Shares

विराटनगर : प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाइ अभियान देशकै चासोको विषय बनेको छ ।

प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्ने गरी तयारीका काम भैरहँदा राष्ट्रिय सरसफाइ समन्वय समितिले मोरङ केन्द्रित बनी घरदैलो र स्थलगत अनुगमनलाई तीव्र बनाएको छ ।

यसै क्रममा खानेपानी मन्त्रालयका सहसचिव एवम् राष्ट्रिय सरसफाइ समन्वय समितिका अध्यक्ष मनोजकुमार घिमिरे र समितिका सदस्य एवम् ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका कार्यक्रम विश्लेषक मदनकुमार मल्लले खुल्ला दिसामुक्त घोषणा हुन बाँकी क्षेत्रमा घरदैलो, अनुगमन र स्थलगत भ्रमण गर्नुभएको छ ।

केही दिनयता मोरङमा नै रहेका उहाँहरुले कटहरी र जहदाका विभिन्न वडामा स्थलगत अनुगमन गर्नुका साथै जिल्ला र गाउँपालिका टोलीसँगको छलफल र सहजीकरणलाई तीव्र बनाउनुभएको छ ।

“जिल्ला र गाउँपालिकाहरुको तदारुकता र सक्रियता एकदम स्वागत योग्य छ”, स्थानीय तहहरुको भ्रमणपछि राष्ट्रिय सरसफाइ समन्वय समितिका अध्यक्ष मनोज घिमिरेले भन्नुभयो, “आपूर्ति पक्षको कुशल व्यवस्थापन गर्न सकेमा कटहरीले अपनाएको पद्धति प्रभावकारी देखिन्छ ।”

 

कटहरी गाउँपालिकामा दैनिक विहान र साँझ खुल्ला स्थानमा दिसा गर्ने स्थानमा प्रहरी सहितको गश्ती गरी खुल्लामा दिसा गर्नेलाई माला लगाएर चर्पी बनाउने प्रतिवतद्धता गराउनुका साथै नगद जरिवाना समेत गर्ने गरिएको छ भने घरदैलो गरी चर्पी निर्माणमा सहयोग समेत गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले जानकारी दिनुभयो । कटहरी गाउँपालिकामा खुल्ला दिसामुक्त अभियानमा अहिले मातृभूमि महिला समाजले समेत सघाइरहेको छ ।

पौष ५ भित्र घोषणा गरिसक्न पालिकालाई निर्देशन

तोकिएको मितिमा खुल्ला दिसामुक्त घोषणा नभएपछि पौष ५ गतेभित्र सम्पूर्ण स्थानीय तहलाई खुल्ला दिसामुक्त घोषणा गरिसक्ने जिल्ला खानेपानी, सरसफाइ तथा सवच्छता समन्वय समितिको बैठकले निर्णय गरेको छ । आइतबार अबेर बसेको बैठकले पालिकाहरुलाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति लम्ब्याएको हो ।

 

“निर्धारित मितिमा खुल्ला दिसामुक्त घोषणा हुन नसकेपछि बाँकी पालिकाको स्थलगत अनुगमन र टोलीसँगको छलफलका आधारमा नयाँ मिति तोकिएको हो”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ का प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव ई. सयनकुमार श्रेष्ठको भनाइ भनाइ छ, “यो मितिभित्रै खुल्ला दिसामुक्त घोषणा गर्नका लागि सबै रणनीति लगाउछौं ।”

 

थप प्राविधिक टोली आवश्यक परेमा डिभिजन कार्यालय अन्तर्गत झापा जिल्लामा कार्यरत टोलीलाई समेत ल्याउने समेत उहाँले बताउनुभयो ।

प्रतिष्ठाको विषय बन्यो खुल्ला दिसामुक्त घोषणा

प्रदेशको समेत राजधानी रहेको मोरङको खुल्ला दिसामुक्त घोषणा जिल्लाकै प्रतिष्ठाको विषय बनेको बताउनुहुन्छ जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश प्रसाद पोखरेल ।

“राष्ट्रिय राजनीतिमा दरो प्रभाव राख्ने मोरङ अझै पनि खुल्ला दिसामुक्त हुन नसक्दा जिल्लाको राष्ट्रिय पहिचानमा नै धक्का लागेको छ”, पोखरेलको भनाइ छ, “सन् २०१८ भित्र खुल्ला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्यभित्र जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन नसक्ने हो भने जिल्लााको इज्जत नै रहँदैन ।”

यस अघिको जिल्लाका साझेदार र राष्ट्रिय सरसफाइ समन्वय समिति सहित जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको विस्तारित बैठकले खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी सम्पूर्ण स्थानीय तहहरु मंसीर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरी मंसीर २० गते जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको थियो ।

बाँकी स्थानीय तहमध्ये विराटनगर महानगरपालिकालाई कार्तिक मसान्तभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता गरिए पनि सो अवधिमा वडा नं. ४, १२ र १४ मात्र खुल्ला दिसामुक्त घोषणा भए । वडा नं. १८ र १९ सहित नगरपालिका नै खुल्ला दिसामुक्त घोषणा गर्न भने बाँकी नै छ ।

कार्तिक मसान्तमा नै खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता गरेको बूढीगंगा गाउँपालिका समेत खुल्ला दिसामुक्त घोषणा भएको छैन ।

त्यस यता सम्पूर्ण वडा यस अघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेको धनपालथान गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ भने रंगेली नगरपालिका तोकिएकै मितिमा खुल्ला दिसामुक्त घोषणा भैसकेको छ । अन्तिम गुणस्तर अनुगमन समेत भैसकेको सुनवर्षी नगरपालिका मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्नका लागि कार्यपालिका बैठकले तयारी गरेको छ ।

मंसीर १५ मा घोषणा गर्ने प्रतिवद्धता गरेको जहदा गाउँपालिकामा अझै पनि पाँच सयभन्दा बढी घरधुरीमा चर्पी बन्न बाँकी रहेको छ । “मेरो वडालाई अबको दश दिनभित्र खुल्ला दिसामुक्त गराउन सकिन्छ”, वडा नं. ४ का अध्यक्ष जयनाथ गिरीले भन्नुभयो, “चर्पी बनाउने रिङ तयार भएर पनि चर्पी नबनाउने घरधुरी बाँकी छन् । अहिले घरदैलो र अनुगमन गरिरहेका छौं ।”

 

जहदामा अझै चुनौती

साविकका चार गाउँ विकास समिति र बुधनगरका केही वडा मिलेर बनेको जहदामा मिसिएका बुधनगरका वडा र साविक पोखरिया खुल्ला दिसामुक्त अवस्था हासिल गरे पनि साविक भातिगञ्ज, सिस्वनी जहदा र मजहरे (हाल वडा नं. २, ४ र ७) खुल्ला दिसामुक्त हुन सकेका छैनन् ।

बाह्य सहजीकरण निरन्तर रहेको र गाउँपालिकाले समेत थप संस्थासँग समन्वय गरी अभियान अघि बढाएको भए पनि तीव्रता र इच्छाशक्ति कम देखिएको बताउनुहुन्छ यू.एन. ह्याबिट्याट नेपालका कार्यक्रम विश्लेषक मदनकुमार मल्ल ।

 

 

“जिल्लाको कार्यशालामा गाउँपालिका प्रतिनिधिले जहदालाई मंसीर १५ गतेभित्रै खुल्ला दिसामुक्त अवस्थामा पु-याउने प्रतिवद्धता व्यक्त गरे पनि त्यसअनुसारको प्रगति देखिएन”, मल्लको भनाइ छ, “वडा तहमा थप रणनीति तय गरेर अभियान अघि नबढाउने हो भने जहदा गाउँपालिका नै मोरङ जिल्ला खुल्ला दिसामुक्त घोषणाको वाधक बन्न सक्ने देखिन्छ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले तीव्रताका साथ काम भैरहेको बताए पनि आपूर्ति पक्ष र प्राविधिक एवम् प्रक्रियागत सहजीकरण कमजोर देखिन्छ ।

“कति र कुन कुन घरमा चर्पी बन्न बाँकी छन् भन्ने तथ्यांक समेत राम्ररी अद्यावधिक नभएको देखियो”, टोलीसँगै स्थलगत अनुगमनमा पुगेका सदस्यसचिव श्रेष्ठको भनाइ छ, “हामीले डिभिजन कार्यालयको तर्फबाट समेत प्राविधिक टोलीलाई पठाउछौं, नयाँ र फरक रणनीति तय गरेर अघि बढ्नुपर्ने खाँचो देखिन्छ ।”

यसअघिको तथ्यांकमा २ सय ५८ घरधुरीमा चर्पी बन्न बाँकी रहेको भनिए पनि वर्षा याममा डुवान र कटानमा परेर चर्पी मर्मत एवम् पुनःनिर्माण गर्नुपर्ने घरधुरी पनि करिब तीन सयको हाराहारीमा छन् ।

बूढीगंगामा समेत खुल्लामा दिसा गर्नेहरु पक्राउ

विराटनगर महानगरपालिकासँगै जोडिएको बूढीगंगा गाउँपालिकाको वडा नं. २ अझै खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकालाई यही मंसीर २६ गते खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गर्नुका साथै चर्पी बनाउन बाँकी सम्पूर्ण घरधुरीलाई निर्माण सामग्री प्रदान गरिसक्दा पनि चर्पी नबनाई खुल्लामा नै दिसा गर्नेहरुलाई प्रहरीले पक्राउ गरी खुल्लामा दिसा नगर्ने लिखित प्रतिवद्धता लिएरमात्र छोड्न थालेको छ ।

 

सोमबार समेत खुल्लामा दिसा गर्नेहरुलाई प्रहरीले पक्राउ गरी जरिवाना लिएर छोडिएको वडाअध्यक्ष रेवतीनारायण चौधरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार