विद्यार्थीको प्रस्तुतिलाई मेयरले योजनामा हाल्ने, नीतिमा ढाल्ने

काठमाडौ : विहीबार बिहान ८ नबज्दै चन्द्रगिरी नगरपालिकाको प्राङ्गण नजिकैको खाली ठाउँमा रङ्गीविरङ्गी फ्लिप चार्टले सजिएको थियो । चार्टमा सामाजिक नक्सा, भेन डाइग्राम, मौसमी पात्रो लगायत कोरिएको देखिन्थ्यो ।


विभिन्न विद्यालयका बालबालिका, नगरपालिकाका कर्मचारी र पदाधिकारी पनि विहानै आईसकेका थिए ।


केही समयपछि शुरु भयो प्रस्तुतीकरण । विद्यार्थीहरुले खानेपानी तथा सरसफाइजन्य जोखिम मापनका लागि आफूहरुले गरेको काम, समुदायमा जाँदा देखिएका कुराहरु जोखिमहरु तथा कार्ययोजना समेत पालैपालो प्रस्तुत गरे ।


विभिन्न विद्यालयका समूहले गरेको प्रस्तुतीकरणलाई चन्द्रगिरी नगरपालिकाका मेयर घनाश्याम गिरीले अभिरुचीपूर्वक सुन्नुभयो । विद्यार्थीले गरेको प्रस्तुतीकरणबाट थप स्पष्टता खोज्न उहाँले प्रश्न पनि गर्नुभयो । कतिपय कुरालाई त उहाँले नोटबुकमा पनि टिपोट गर्नुभयो ।


विद्यार्थीहरु भन्दै थिए ‘हामीले पिए भाइल टेस्टबाट पानीको परिक्षण गर्यौं, हामीले परिक्षण गरेका पानीमा कोलिफर्मको मात्रा अत्याधिक पायौं ।’


कतिपय विद्यार्थीको प्रस्तुतीकरणमा फोहोर विसर्जन गर्ने स्थल नजिकै हुँदा आफूहरुलाई पढ्न पनि गाह्रो भएको कुरा आएको थियो । सडकमा छाडिएका छाडा कुकुरले रेबिजको जोखिम बढाएको, सडक भत्किँदा दुर्घटना र हावामा प्रदुषण देखिएको लगायत जोखिमहरु विद्यार्थीहरुले औल्याएका थिए ।


उनीहरुले मौसमी पात्रो बनाएर सबैभन्दा बढी हैजा तथा झाडापखालाको जोखिम हुने समय र कारण समेत औल्याएका थिए । त्यसलाई पनि मेयर गिरीले राम्ररी मनन गर्नुभयो र प्रतिप्रश्न पनि गर्नुभयो ।


खानेपानीको मुहान दुषित हुँदा खानेपानीजन्य रोगहरु फैलिएको विद्यार्थीको अध्ययनको निष्कर्ष थियो ।


उनीहरुले खानेपानी तथा सरसफाइजन्य जोखिमको पहिचान गरी ती समस्या समाधानका लागि कार्ययोजना समेत तयार पारेका छन् । कार्ययोजनामा के गर्ने ? कसले गर्ने र कसरी गर्ने समेत उल्लेख गरिएको थियो । त्यसका लागि नजिकका संघसंस्था कुन कुन छन् ? ती संघसंस्थाले कसरी सहयोग गर्न सक्छन् भन्ने कुरा भेन डायग्राम बनाएर उल्लेख गरेका थिए ।


युनिसेफ नेपालको आर्थिक सहयोग र मिनर्जी तथा चन्द्रगिरी नगरपालिकाको समन्वय र प्राविधिक सहयोगमा चन्द्रगिरी नगरपालिका भित्रका २० वटा विद्यालयका विद्यार्थीहरुले बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा गरेका थिए ।


बालबालिकाहरुले छुट्टाछुट्टै तयार पारेर गरिएको प्रस्तुतीकरणले आफ्नो सेवाक्षेत्रभित्र के कस्ता समस्याहरु रहेछन् भन्ने कुरा बोध भएको मेयर घनाश्याम गिरीले बताउनुभयो ।


‘मलाई बालबालिकाको प्रस्तुतीकरणले सेवा क्षेत्रभित्र रहेका खानेपानी तथा सरसफाइजन्य जोखिमका बिषयमा बुझ्ने मौका मिलेको छ । भावी दिनमा उनीहरुले बनाएको कार्ययोजनालाई नगरपालिकाको कार्ययोजनाभित्र पार्ने काम गर्नेछु’ मेयर गिरीले भन्नुभयो ‘उनीहरुले ल्याएको कुरालाई नीतिमा कसरी प्रतिबिम्बित गर्ने भन्ने विषयमा पनि मैले सोचिसकेको छु ।’


विद्यार्थीलाई खानेपानी र सरसफाइजन्य जोखिम मापन गर्न समुदायमा पठाउनु अघि जोखिम के हो ? खतरा के हो ? यसको मापन कसरी गर्ने भन्ने विषयमा विभिन्न औजारहरुको प्रयोग गरी जोखिम पहिचान गर्ने विधिका विषयमा प्रशिक्षण गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार