नगरपालिकाका कर्मचारीले भने ‘यस्तो प्रशोधन केन्द्र युरोपमा देखेको थिएँ, यहाँ पनि हेर्न पाएँ’

 2038 पटक हेरिएको
🔗
4
Shares

काठमाडौ : ‘केही बर्ष पहिले युरोप भ्रमणका क्रममा मैले यस्तै दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेको थिएँ, आज यहाँ पनि हेर्न पाएँ’ ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेपछि काठमाडौ महानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र बज्रचार्यले आफूलाई नेपालमा यो प्रविधि भित्रिईसकेको छ भन्ने कुरा थाहा नभएको बताउनुभयो ।


उहाँले नेपालमा समेत यो प्रविधिलाई प्रयोगमा ल्याउनु सामान्य काम नभएको र यसले सरसफाइ क्षेत्रमा प्रविधिको प्रयोग गर्नेमा नेपाल निक्कै अगाडि रहेको प्रमाणित गरेको बताउनुभयो ।

मंगलबार काठमाडौ उपत्यका र भक्तपुरका गरी सात नगरपालिकाका उपमेयर तथा स्वास्थ्य शाखा प्रमुख र केही गैरसरकारी संस्थाका पदाधिकारीले ललितपुरको लुभुमा सञ्चालित दिसाजन्य लेदो व्यवस्थापन केन्द्रको अध्ययन गरेपछि अन्तरक्रिया गरिएको थियो ।


काठमाडौं उपत्यकामा मनसुनको समयमा हुने हैजा र पानीजन्य रोगहरुको उच्च जोखिम घटाउन उपयुक्त उपायबारे अवगत गराउन र दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भ्रमण गराई त्यस प्रणालीको कार्यविधि, मर्मत सम्भार तथा फाईदाहरु बारे अध्ययन गराउन नगरपालिकाका उपप्रमुख तथा स्वास्थ्य शाखा प्रमुखलाई वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले अवलोकन भ्रमण गराएको थियो ।


अवलोकन भ्रमणपछि आयोजित अन्तरक्रियामा युवा क्रियाकलाप समाज (सोया) का पहलमान श्रेष्ठले चाङ्गुनारायण नगरपालिकामा पनि दिसाजन्य लेदो व्यवस्थापन केन्द्र बनाउने कुरा भइरहेको र आफूलाई यो भ्रमणबाट केही ज्ञान हासिल भएको बताउनुभयो ।


वास खबर सँग कुरा गर्दै युम्सका राजबाबु श्रेष्ठले नेपालको हरेक हरेक घरमा चर्पी बनेर खुला दिसामुक्त घोषणा हुने चरणमा रहेकाले चर्पी निर्माण सँगसँगै दिसाजन्य लेदो व्यवस्थापनमा पनि सोच्नुपर्ने र यो अति नै प्रभावकारी प्रविधि हुने बताउनुभयो ।


यस्तै ललितपुर महानगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सरिता महर्जनले दिसाजन्य लेदो व्यवस्थापन गर्नु जनस्वास्थ्यको दृष्टिकोणले पनि अति महत्वपूर्ण हुने बताउनुभयो ।


बर्षातमा खानेपानीजन्य विभिन्न रोगहरु देखापर्ने र ती कुनै न कुनै माध्यमबाट मानिसको दिसाको किटाणु पानीमा मिसिंदा हुने भएकाले दिसाजन्य लेदो व्यवस्थापनको काममा स्थानीय सरकारले नै ध्यान दिनुपर्ने बताउनुभयो ।

वातावरण र जनस्वास्थ्य संस्थाले ती नगरपालिकाहरुमा उपत्यका भित्रका नगरपालिकाहरुमा हैजा तथा पानीजन्य रोगहरुको पुर्व तयारीका लागि क्षमता अभिवृद्धि गर्न प्राविधिक सहयोग परियोजना सञ्चालन गर्दै आएको छ ।


Unicef को आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) द्धारा सञ्चालित परियोजनाले नगरपालिकाहरु र सम्बन्धित सरोकारवालालाई पानीजन्य रोगहरु (हैजा) को रोकथामका लागि क्षमता अभिवृद्धि गर्ने र समुदाय स्तरमै पुर्वतयारी गराई पानीजन्य रोगहरुको न्यूनीकरण गर्ने उद्देश्यले काम गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार