काठमाडौं : महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य सहितको टोलीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल ल्याण्डफिल साइट र दीर्घकालीन प्रयोगमा ल्याउन लागेको बञ्चरे डाँडाको अवलोकन गरेको छ ।
टोलीले सबैभन्दा पहिले बञ्चरे डाँडाको अवलोकन गरेको थियो । बञ्चरेडाँडाको निर्माणाधीन ल्याण्डफिल साइटको अवलोकन पछि मेयर शाक्यले बर्षायाम अघि नै बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सम्पन्न गर्न मन्त्रालयका अधिकारीलाई आग्रह गर्नुभयो ।
‘सिसडोलको क्षमता बढाउन सकिने अबस्था छँदै छैन । हामीले अर्को बिकल्प पनि सोचेका छैनौं । त्यसैले बञ्चरे डाँडाको पूर्वाधार बिकासलाई महत्व दिएर जसरी भएपनि बर्षा अगावै सकाउनै प¥यो’ मेयर शाक्यले आग्रह गर्नुभयो ।
मेयर शाक्यले बोलिसकेपछि बोल्ने पालो आयो सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीको । उहाँले बञ्चरे डाँडाको पूर्वाधार अघि बढाउन अहिले भइरहेका कामका विषयमा जानकारी गराउनुभयो । ‘हामीले माटो परीक्षणको काम गरिरहेका छौं, ५ ठाउँमा ४० मिटरसम्म तल गएर माटोको परीक्षण हुँदैछ । यसबाट प्राप्त नतिजाका आधारमा डिजाइन हुने, बोलपत्र आव्हान हुने काम हुन्छ’ उपमहानिर्देशक मैनालीले भन्नुभयो ।
बञ्चरे डाँडापछि अवस्था हेरेपछि टोली सिसडोल ल्याण्डफिल साइट फर्कियो । टोलीमा मेयर शाक्य सहित सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाली, काठमाडौं महानगरका सहसचिव भरत अर्याल, महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोल, संघीय संसद सदस्य रामबीर मानन्धर र वातावरण व्यवस्थापन र पूर्वाधार बिकास बिभागका अधिकारी लगायत हुनुहुन्थ्यो ।
सिसडोल ल्याण्डफिल साईटमा मेयर शाक्यले फोहोर ढुबानी र अन्तिम व्यवस्थापनमा भइरहेका कामका बिषयमा जानकारी लिनुभयो । स्थलगत भ्रमण सकिएपछि मेयर शाक्यले तत्काल गर्नुपर्ने कामको योजना बनाउन वातावरण व्यवस्थापन विभागलाई निर्देशन दिनुभयो । यस्तै संघीय संसद सदस्य रामबीर मानन्धरले दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । महानगरका सहसचिब भरत अर्यालले प्राविधिक दृष्टिले भ्याली १ र २ मा पर्खाल उठाएर ल्याण्ड स्केपिङ् गर्न सकिने बताउनु भएको थियो ।
सडक विभागले सिसडोलबाट बञ्चरे डाँडासम्मको करिब २ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गर्ने काम शुरु गरिसकेको छ ।