वातावरण संरक्षण ऐन हप्तादिन भित्रै संसदमा पेश हुने

काठमाडौ : वातावरण संरक्षण ऐन अबको हप्ता दिन भित्रै संसदमा पेश हुने भएको छ । चक्रपथ सरसफाइ महाअभियानको १०० औं हप्ताको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वातावरण संरक्षण ऐन संसदमा पेश गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभयो ।

उहाँले वातावरण संरक्षण ऐनमा प्रदुषकले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएको उल्लेख गर्नुभयो । ‘कुनै घर वा कुनै उद्योग तथा कलकारखानाले प्रदुषण गरायो भने त्यसबाट स्वभाविक रुपमा मानिस तथा अन्य प्राणी प्रभावित हुन्छन् । यसले वातावरणमा समस्या निम्त्याउँछ, त्यसैले प्रदुषकलाई क्षतिपूर्ति तिराउने सहितको व्यवस्था गरेका छौं’ मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्री बस्नेतले चक्रपथ सरसफाइ महाअभियानले अहिलेसम्म सडक स्वच्छताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै आगामी दिनमा यसको ढाँचा बदल्नुपर्ने बताउनुभयो । उहाँले अब कलंकी देखि चक्रपथ सडक बिस्तारको काम हुने भएकाले अभियानले पनि सोही अनुसार प्रारुप बदल्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सरकारले सडक बिस्तारका साथै हरियाली प्रबद्र्धनको कामलाई पनि सँगसँगै अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
चक्रपथ सरसफाइ महाअभियान १०० औं हप्ता पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

अभियानमा सहभागी भएर सरसफाइमा विशेष योगदान पु-याउने संघसंस्था तथा अभियन्तालाई पुरस्कार एवं सम्मान गरिएको थियो ।


बाग्मती सरसफाइ महाअभियानबाट प्रेरित भएर चक्रपथ सरसफाइ अभियान वि.सं.ल २०७४ वैशाख २ बाट सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार