भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापनमा कोरियन सरकारको हात

चितवन : भरतपुर महानगरपालिकाले कोरियन सरकारको सहयोगमा फोहरमैला व्यवस्थापनको काम चैत दोस्रो साता देखि सुरु गर्ने तयारी गरेको छ । कोरियाको सुडोकोन ल्याण्डफिल साइट म्यानेजमेण्ट कोअपरेसन (एसएलसी) ले महानगरको फोहोर व्यवस्थापनको लागि प्रक्रिया अघि बढाएको हो ।

कोरियन संस्थाको सहयोगमा ठूलो परियोजना कार्यान्वयनमा आउन लागेको र मार्चभित्र डीपीआर’को काम सुरु हुने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाले बताउनुभयो । ‘एकबर्षभित्र महानगरको फोहरमैलाको अवस्थाबारे स्थलगत अध्ययन हुनेछ, व्यवस्थित ल्याण्डफिल साइट कस्तो बनाउने बारे निष्कर्ष निकालिनेछ ।’ उहाँले भन्नुभयो ।

कोरियन सरकारले ७ करोड बजेट भरतपुरको अध्ययनका लागि स्वीकृत गरिसकेको र सबै पक्षको अध्ययन पश्चात पूर्वाधार विकासको काम हुने उहाँले जानकारी दिनुभयो ।

सुडोकोन कोरियन सरकारको व्यापारिक संस्था हो । यो संस्थाले भरतपुर र विराटनगरमा फोहरमैला व्यवस्थापनबारे विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउन कोरियाका इच्छुक निजी क्षेत्र छनोट गर्न सूचना समेत जारी गरिसकेको छ ।

भरतपुर र सुडोकोन बीच यही भदौ २८ गते ५ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सुडोकोन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखाबीच यही मार्चभित्रै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
मन्त्रालयसँग हस्ताक्षर भए पश्चात डीपीआरको काम सुरु हुनेछ । सुडोकोनले विराटनगर र भरतपुरमा काम गर्ने जनाउँदै प्रस्ताव पठाए पनि मन्त्रालयको टोली समेत स्थलगत निरीक्षणमा भरतपुर आइसकेको छ ।

डीपीआर तयार भएको २ वर्षभित्र अत्याधुनिक ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ । महानगरको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष पदमपाणि सुवेदीका अनुसार वडा नम्बर २१ र २४ मा पश्चिम चितवनको फोहरमैला व्यवस्थापन गर्ने गरी काम अघि बढिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार