ई ! .यस्तो हुन्छ, स्मार्ट शौचालय, ढल व्यवस्थापन विभाग परिसरमा बन्दै

काठमाडौ : शौचालयको ढोका अगाडि सिक्का हाल्ने ठाउँमा सिक्का नहाली शौचालयको ढोकै खुल्दैन । सिक्का खसालेपछि बल्ल ढोका खुल्छ र मानिस शौचालयमा छिर्ने वित्तिकै प्यान सेटमा पानी फ्लस हुन्छ । दिसा गर्दा लगाउने समय तथा पिसाब गरेको समयको आधारमा शौचालय आफैले फ्लस गर्छ र प्रयोग गरेर निस्केपछि शौचालय आफै सफा हुन्छ ।

शौचालय भित्र मानिस भए नभएको बाहिर नै जानकारी दिन्छ । शौचालय खाली भएको वा प्रयोगमा रहेको जनाउ दिने संकेत चिन्हहरु पनि ढोका अगाडि नै हुन्छन् । हो यस्तै शौचालय बनिरहेको छ, खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानीपोखरी परिसरमा । शौचालयको यही विशेषताका कारण यसलाई स्मार्ट शौचालय भनिएको हो । जसको रेखदेख गर्नका लागि मानिसको जरुरत पर्दैन ।

 

यस अघि नै डोल्पाको दुनैमा स्मार्ट शौचालय निर्माण गरिसकेको ल्याप्को टेक्नोलोजिज सँग मिलेर खानेपानी तथा ढल व्यवस्थापन विभागले केही परिमार्जन सहित स्मार्ट शौचालय निर्माण गरेको हो ।

यो शौचालयमा महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टा छुट्टै कोठा हुनेछन् । अपाङ्गता भएकाहरुका लागि अपाङ्गतामैत्री र महिलाका लागि महिलामैत्री हुनेछ भने पुरुषका लागि पनि छुट्टै कोठा हुनेछ ।

साधारण शौचालय निर्माण गर्दा सधैं फोहोर हुने, सफा गरिरहनुपर्ने र अन्त्यमा प्रयोग विहीन हुने भएपछि विभागले नमुनाको रुपमा स्वचालित (स्मार्ट) शौचालय निर्माण गरेको हो ।

स्मार्ट शौचालयको प्रभावकारिता हेरेर विभागले काठमाडौ महानगरपालिकाको समन्वय काठमाडौ उपत्यकाका अन्य ठाउँमा समेत विस्तार गर्ने योजना बनाएको छ । काठमाडौ उपत्यकामा सार्वजनिक जग्गा उपलब्ध नहुने तथा पर्याप्त जग्गा नभएको ठाउँमा स्मार्ट शौचालय उपयोगी हुने जानकारहरु बताउँछन् ।

स्मार्ट शौचालय स्थायी प्रकृतिको नहुने र यसलाई आवश्यकता अनुसार अन्यत्र सार्न समेत मिल्ने ल्याप्को टेक्नोलोजिज् प्रा.लि. का सञ्चालक रबिन्द्र शाहीले जानकारी दिनुभयो ।

विभाग परिसरमा निर्माण भइरहेको स्मार्ट शौचालयको काम अन्तिम चरणमा पुगेको छ । केही समय अघि काठमाडौ महानगरपालिकाकी मेयर नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार