काठमाडौको सडकमा शुक्रबारदेखि यान्त्रिक कुचो लगाइने

 

काठमाडौ : काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि यान्त्रिक कुचो (ब्रुमर) मार्फत सडक सफा गर्ने भएको छ । यसका लागि सोमबार नै इटलीबाट यान्त्रिक कुचो काठमाडौ ल्याइसकेको छ । यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । ती ब्रुमर १० करोड ८० लाखमा काठमाडौ ल्याइएको हो ।

ब्रुमर सञ्चालनका लागि चालक र सहचालकलाई तालिम दिईसकेको र यन्त्रको पार्टपूर्जा जडान गर्ने काम भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिसम्ममा सञ्चालनको तयारीको सबै काम सकेर प्रयोगमा ल्याइनेछ ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । अबको केही दिनमा कुन कुन स्थानमा यान्त्रिक कुचो प्रयोग गर्ने भन्ने यकिन गरिने महानगरपालिकाले जनाएको छ ।

ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रस सहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार