शंखरापुरलाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुल्यो

काठमाडौ : काठमाडौको शंखरापुर नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले सहमति प्रदान गरेको छ ।

डिवाससीसीको अनुगमन कार्यदलले शंखरापुर नगरपालिकाको विभिन्न वडा तथा बस्तीमा पुगेर अनुगमन गर्दा घरघरै चर्पी निर्माण गरी प्रयोग भइरहेको र खुला दिसामुक्त घोषणा गर्न आवश्यक अन्य सूचकहरु समेत पूरा गरेको पाइएकोले शंखरापुर नगरपालिकालाई खुलादिसामुक्त घोषणा गर्न सहमति दिने निर्णय गरिएको डिवाससीसीका सदस्य सचिव हरिदत्त पौडेलले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले सहमति दिएसँगै अब शंखरापुरलाई यही चैत्र २८ गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले शंखरापुरलाई यही २८ गते खुला दिसामुक्त घोषणा गर्ने यस अघि नै निर्णय गरिसकेको छ ।

शंखरापुर नगरपालिकाको सबै वडाहरुमा एक घर एक चर्पी निर्माण कार्य सम्पन्न भएपछि नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले अनुगमन गरिदिन यही चैत्र २० गते डिवाससीसीलाई पत्राचार गरेको थियो ।

एमवाससीसीको आग्रह अनुसार डिवाससीसी काठमाडौबाट खटिएको अनुगमन कार्यदलले आज (सोमबार) शंखरापुर नगरपालिकाको विभिन्न वडा तथा बस्तीमा गएर शौचालयको प्रयोग तथा खानेपानी र स्वच्छताको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सबै घरमा शौचालय निर्माण भएपनि कतै कतै शौचालयको बार र छानो अस्थायी प्रकृतिको देखिएकाले नगरपालिकाबाट सञ्चालन गरिने कार्यक्रम अनुगमनको शीलशीलामा र पूर्ण सरसफाइ कार्यक्रम सञ्चालनका क्रममा स्तरोन्नतिका लागि स्थानीयबासिन्दालाई प्रेरित गर्न आग्रह गर्ने निर्णय समेत गरिएको डिवाससीसी काठमाडौका सदस्य सचिव हरिदत्त पौडेलले जानकारी दिनुभयो ।

अनुगमन टोलीले चर्पीको निर्माण तथा नियमित प्रयोग, व्यक्ति सरसफाइ, सुरक्षित पानी र सुरक्षित खाना खाए नखाएको र सफा र स्वच्छ घर आँगन भए, नभएको बारेमा अनुगमन गरेको थियो ।

 

जिल्ला समन्वय समिति काठमाडौकी उपप्रमुख सरिता दाहाल, डिभिजन नंं ५ का प्रमुख हरिदत्त पौडेल, शाखा अधिकृत घनश्याम तिमल्सिना, फण्ड बोर्डका कार्यक्रम विकास अधिकृत सञ्जय देवकोटा, खानेपानी तथा सरसफाइ टेक्निसियन पशुपति जोशी, शम्भु बहादुर कार्की, रञ्जु भट्टराई, निशा पोखरेल, मिता केशरी प्रजापति र ईश्वरी मगर सहितको टोलीले शंखरापुरको विभिन्न बस्तीमा पुगेर स्थानीय बासिन्दासँग शौचालय प्रयोगको अवस्थाबारे सोधपुछ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार