स्मार्ट भिलेज ‘घलेगाउँ’ अब पूर्ण सरसफाइ पनि

लमजुङ : नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि सारिएको लमजुङको पर्यटकीय गाउँ ‘घले गाउँ’ अब पूर्ण सरसफाइ गाउँ बनेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा उद्घाटन गर्नुभएको घले गाउँलाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो । क्व्होलासोंथर गाउँपालिका ३ घलेगाउँ (साविक उत्तरकन्या गाविसका घलेगाउँ, बगुम, खगुम, काम्दु र फुल्म्रो) लाई सरसफाइका ६ वटा सूचक पूरा गरेपछि सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो ।

 

गाउँका २ सय ९० घरधुरीले सरसफाइमा ध्यान दिएर अघि बढेको वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष वडाध्यक्ष खर्काजङ गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रत्येक घरमा शौचालय बनाइएको छ । टोेल–टोल तथा गल्लीहरु सरसफाइ गरेर चिटिक्क बनाइएको छ । साताको एकपटक सरसफाइ गर्ने गरिएको छ । बाटोको बीच–बीचमा फूल रोपिएको छ । खाना खानुअघि र खाइसकेपछि, शौचालय गएपछि, बच्चाको दिशा छोएपछि, माटोमा काम गरेपछि साबुनपानीले हात धुने गरेका छन् ।

स्थानीय सरस्वती आमा समूहकी अध्यक्ष कासमिरी गुरुङले गाउँलेले सरसफाइमा महत्व दिन थालेको बताउनुभयो । ‘पहिले सरसफाइ भन्ने के हो थाहा थिएन । बाटो, पाखामा दिसा गथ्र्यौं । पानीले सफा नगर्ने गथ्र्यौं’ उहाँले भन्नुभयो, ‘अहिले सबैको घरमा शौचालय छ । पानीको धारा छ । घरको सरसफाइ देखि बाटोसम्मको सरसफाइमा जुट्न थालेका छौं । गाउँमा सरसफाइप्रति चेतना बढेको छ ।’

घलेगाउँलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्दै जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले नेपालकै पहिलो स्मार्ट भिलेज घलेगाउँ हरेक हिसाबले स्मार्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘घलेगाउँ स्मार्ट भिलेजको रुपमा परिचित छ । स्मार्ट गाउँ जुनुसुकै कुरामा स्मार्ट हुनुपर्छ । सरसफाईमा पनि अन्य ठाउँमा भन्दा राम्रो हुनुपर्छ । यहाँको सरसफाइ स्वास्थ्य, शिक्षामा सबैमा राम्रो हुनुपर्छ ।’ सरसफाइ नहुँदा विभिन्न रोग लाग्ने र मानिसको ज्यान समेत जान सक्ने भएकाले निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । सरसफाइलाई पर्यटनसंग जोड्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

 

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकाले वातावरणीय सरसफाइमा चासो दिएको र योजनाका साथ अघि बढेको बताउनुभयो । सरसफाइ अत्यन्तै महत्वपूर्ण कुरा भएकाले हरेक नागरिकले सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो । सरसफाइ नभएसम्म नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको नारा साकार नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘तबसम्म सरसफाई हुँदैन । तबसम्म विकास हुँदैन । सरसफाइले गाउँको चिनारी दिन्छ । सरसफाइ गाउँमा पर्यटक बढी आउँछ । घलेगाउँ स्मार्ट भिलेज भएकाले सरसफाइसँगै अन्य कुरामा स्मार्ट बनाउन खोजिरहेका छौं ।’

गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङले सरसफाईमा महिला दिदिबहिनीको भूमिका अग्रस्थानमा हुने बताउनुभयो । सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिगो रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका ९ वटै वडालाई आगामि दशैंअघि पूर्ण सरसफाइ घोषणा गर्ने गरी काम अघि बढाइएको छ । गाउँपालिकाको हालसम्म ३ वटा वडा पूर्ण सरसफाइ बनिसकेको छ । घलेगाउँसंगै गाउँपालिकाको ४ वडा र मस्र्याङदी गाउँपालिकाको एक वडा पूर्ण सरसफाइ बनिसकेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बन्यजन्तु, बनको संरक्षणका साथै सरसफाइको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि सरसफाइ महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरसफाइका सूचकअनुसार स्थनीयले शौचालयको प्रयोग, सावुन पानीले हात धुने बानी, सरसफाइयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाइ र वातावरणीय सरसफाइमा ध्यान दिएका छन् ।

क्व्होलासोंथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुमगरले सरसफाइ सम्बन्धी १४ बुँदे आचारसंहिता प्रतिवद्धता गराउनुभएको थियो । उहाँले स्थानीय सरकारले सरसफाइको क्षेत्रमा योजना बनाएर काम गर्दै आएको बताउनुभयो । आचारसंहिता अनुसार जान सके व्यक्ति, समुदाय र जिल्ला नै सफा हुने उहाँले बताउनुभयो । सुआहारा आरसीडीसी कार्यक्रम लमजुङ÷गोरखा जिल्ला संयोजक याम जि.सीले स्वास्थ्य, सरसफाइ र वातावरणको क्षेत्रमा निरन्तर लाग्नुपर्ने बताउनुभयो । सरसफाइ स्वास्थ्यसंग जोडिएकाले यस क्षेत्रमा सम्बेदनशील भएर लाग्नुपर्ने र सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा साँस्कृतिक समितिले घाँटु नृत्य लगायतका साँस्कृतिक प्रस्तुति राखेका थिए ।

 

कार्यक्रम अघि स्थानीयले काम्दु, फुल्म्रो, खगुम, बगुम देखि घलेगाउँसम्म सरसफाइ सम्बन्धी सचेतनामूलक प्लेकार्ड सहित ¥याली निकालेका थिए । वडालाई सरसफाइ उन्मुख क्षेत्र बनाउन ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), सुआहारा कार्यक्रम, एक्यापको सहयोग रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष खिमप्रसाद गुरुङ, कार्यपालिका सदस्य सोमबहादुर विक, ३ का वडा सदस्य शान्ति गुरुङ, दलित महिला सदस्य मनिका विक, घरेलु तथा साना उद्योग विकास समिति लमजुङका प्रमुख मणिराम नेपाल, आरसीडीसीका अध्यक्ष राजेन्द्र बोहरा, फिल्ड संयोजक शिवेन्द्र अधिकारी, सुआहारा कार्यक्रमका वातावरण अधिकृत रोशन चौलागाइँ, मालिङ स्वास्थ्यचौकी प्रमुख पशुपती सुनार, उत्तकरन्या स्वास्थ्यचौकी प्रमुख राम जीवन शाह लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार