सरकारी तहबाट सगरमाथाको सफाइ हुँदै, ५ हजार किलो फोहोर संकलन हुने

काठमाडौ : सरकारले पहिलो पटक सगरमाथाको सफाइ गर्ने भएको छ । यसअघि विभिन्न निजी संघसंस्थाले सफाइ गरेपनि यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, नेपाली सेना तथा पासाङल्हामु गाउँपालिकाले संयुक्त रुपमा सगरमाथाको सफाइ गर्न लागेको हो ।

यही वैशाख १४ देखि जेठ १५ गतेसम्म सगरमाथाको फोहोर सफा गरी नेपाली सेनाले हेलिकप्टर मार्फत काठमाडौं ल्याइने शमशेर गुल्मका गणपति दिपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

सगरमाथाको सफाइको तयारीबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा सफाइबाट अनुमानित ५ हजार किलो फोहोर संकलन हुने बताउनुभयो । उहाँका अनुसार सफाइ अभियानमा १२ जना शेर्पालाई खटाइने र ४५ दिनभित्र सगरमाथा सफाइ सम्पन्न हुनेछ ।

सगरमाथा सफाइका लागि २ करोड ३२ लाख १६ हजार ३ सय ७ रुपैयाँ खर्च बिनियोजन गरिएको छ । हिमाल आरोहणको सिजन सुरु भएका कारण नयाँ डोरी फिक्सिङ गर्नुअघि नै पुराना डोरी निकाल्ने योजना रहेको महानिर्देशक घिमिरेले बताउनुभयो ।

बर्षेनी सगरमाथा आरोहणका लागि गएको आरोहण दलले छाडेका टेन्ट, अक्सिजनका सिलिन्डर, खानेकुराका भाँडाकुँडा, प्लाष्टिकका खोल, डोरी, कपडा लगायत बस्तुले सगरमाथामा फोहोर हुँदै गएको छ ।

हरेक आरोहीले आफूले गरेको फोहोर आफैले फिर्ता ल्याउनुपर्ने नियम भएपनि ज्यान फोहोर फिर्ता ल्याउने नियम कार्यान्वयन नहुँदा सगरमाथामा दिन प्रतिदिन फोहोरको थुप्रो बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार