पूर्ण सरसफाइयुक्त गाउँ बनाउन युवाले बाँडे डस्टबिन

पर्वत :  पूर्ण सरसफाइयुक्त गाउँ बनाउन युवाहरूको एउटा समूहले एउटै गाउँमा ८० वटा डस्टबिन बाँडेका छन् । पर्वतको फलेबास–३ मा स्थापित सिमखेत युवा क्लवका सदस्यहरुले खाजा खर्च कटौती र विभिन्न सहयोगीबाट डस्टबिन जुटाएर शंकरपोखरी गाउँमा वितरण गरिएको क्लबका अध्यक्ष सरोज खनालले जानकारी दिनुभयो ।

विद्यालय, बाक्लो बस्ती र सार्वजनिक स्थलहरूमा उत्पादित फोहोर संकलनका लागि ती डस्टबिनको प्रयोग गरिने वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताउनुभयो । डस्टबिनले फोहोर व्यवस्थापनमा बानी पर्ने र सार्वजनिक स्थानमा हुने फोहोर व्यवस्थापनमा धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो । शंकरपोखरीलाई दशकअघि नै खुला दिसामुक्त घोषणा गरिएको थियो । शंकरपोखरीलाई पूर्ण सरसफाइयुक्त गाउँ बनाउने अभियानमा युवाले गरेको कार्य उदाहरणीय भएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाईंले विद्यार्थी युवाले गरेको सहयोगले सामाजिक अगुवाहरूलाई सचेत गराएको बताउनुभयो । उहाँले उदाहरणीय काम सानो ठूलो नहुने भन्दै सरसफाइ भन्ने कुरा भान्सादेखि चौतारासम्म उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

वडाले सरसफाइका लागि स्थानीय तीन माध्यमिक विद्यालयका विद्यार्थीहरूमा विगतदेखि नै सचेतना अभियान सञ्चालन गर्दै आएको थियो । घरदेखि विद्यालयसम्म कुहिने, नकुहिने, सड्ने, नसड्ने लगायतका फोहोर व्यवस्थापन गर्न विद्यार्थीहरूलाई अभिमुखीकरण र अन्तरकृया सञ्चालन भइरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
स–साना बालबालिकाहरूमा सफाइप्रतिको छाप बसाल्न सके परिवार र समाजमा त्यसको असर पर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार