पूर्ण सरसफाइ उन्मुख ताघ्रिङले मनायो प्रथम बाषिकोत्सव, झितै जगत टोल प्रथम

लम्जुङ : लम्जुङको मस्र्याङदी गाउँपालिका ४ ताघ्रिङले पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको अवसरमा प्रथम बाषिकोत्सव मनाएको छ । सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको उपलक्ष्यमा ताघ्रिङले प्रथम बाषिकोत्सव भव्यताका साथ मनाएको हो ।

शुक्रबार जगतबजारमा विशेष कार्यक्रमको आयोजना गरी बाषिकोत्सव मनाएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीको प्रमुख आतिथ्य थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरसफाइ जीवन र समाजको महत्वपुर्ण र नियमित प्रक्रिया भएकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उक्त क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्ग भएकाले पर्यटकको बिकासका लागि पनि सरसफाइमा लाग्न अनिवार्य रहेको बताउनुभयो । उहाँले सबै नागारिकहरुले स्वरोजगार हुँदै सरसफाइलाई आयआर्जनसँग जोड्न पर्ने र त्यसो हुन सके मात्रै समृद्ध नेपाल र सुखी नेपाली हुने बताउनुभयो ।

 

पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मस्र्याङदी गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वडाध्यक्ष सुमन गुरुङ, नेकपाका प्रतिनिधि महेन्द्र थापा, नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य नरबहादुर गुरुङल गायतको उपस्थिति थियो ।

कार्यक्रममा स्थानीय दलका राजनीतिक दलका प्रतिनिधि, वडा सदस्य, शिक्षक, विद्यार्थी, टोल सुधार समिति, आमा समूह, युवा क्लबको उत्साहजनक उपस्थिति थियो ।

कार्यक्रम सरसफाइ ब्यबस्थापन समितिका अध्यक्ष खुसिराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य बखबहादुर गुरुङले गर्नुभएको थियो । सोही अवसरमा सरसफाइमा उत्कृष्ट हुने टोललाइ बाल्टी, साबुन र कुचो प्रदान गरिएको छ । सरसफाइमा झितै जगत टोल प्रथम, पुरानो जगत द्वितीय भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार