काठमाडौ : काठमाडौ क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठ बिहीबार शौचालयको महत्वका बिषयमा बोल्दै हुनुहुन्थ्यो । काठमाडौ महानगरपालिकाको वडा नंं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा निर्मित नमुना शौचालयको उदघाटन कार्यक्रम भएकाले उहाँलाई राजनीतिक बिषयमा भन्दा पनि शौचालयकै बिषयमा बोल्नुपर्ने स्वदबाब थियो ।
सांसद श्रेष्ठले हग्ने भन्ने शब्द प्रयोग गरेपछि सायद असजिलो लागेर हुनुपर्छ । कार्यक्रम स्थलमा बसिरहेका केही महिला भने मुख छोपेर घोप्टो परे । सुन्नेहरुले असहज माने पनि सांसद श्रेष्ठले आफ्नो मन्तव्यलाई रोक्नु भएन ।
शौचालयको उदघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद श्रेष्ठले बोल्नु अघि भारतका कोवेस्ट्रो कम्पनीका प्रबन्ध निर्देशक अजय गुरानी लगायत शौचालयको विशेषताका बिषयमा बोल्नुभएको थियो ।
शौचालयको अगाडि उभिएर मन्तव्य व्यक्त गर्दै सांसद श्रेष्ठले विद्यालयको शौचालय उदघाटन मात्र होइन, विद्यालय भवनको शिलान्यास गर्ने अवसर पनि प्राप्त गरेको स्मरण गर्नुभयो । मानिसले भवन, घर तथा कोठालाई प्राथमिकता दिएपनि शौचालय निर्माण र यसको प्रविधिमा ध्यान नदिंदा रोगले ग्रस्त हुनुपरेको उहाँले बताउनुभयो ।
अरु सबथोक हुने तर शौचालय नहुने अवस्थाले अरु राम्रा चीजको पनि महत्व घटेर जाने उहाँको भनाई थियो । पहिले पहिले जनसंख्या कम तर खुला फाँट र खेतको आली प्रशस्त भएकाले खुला ठाउँमा दिसा गरेपनि अहिले त्यो अवस्था नरहेको उहाँले बताउनुभयो ।
‘हामीले सार्वजनिक स्थल, बाटो, भवन सबैतिर शौचालय बनाउनुपर्छ, पहिले पो प्रशस्त खुला ठाउँ थियो र जहाँ हगेपनि हुन्थ्यो, तर अहिले त जताततै घरैघर छ, मानिस नै मानिस छन्, खुला ठाउँमा दिसा गर्दा विभिन्न माध्यम भएर मानिसको पेटमा दिसा पुग्छ र मानिस विभिन्न रोगले ग्रस्त हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।
सांसद श्रेष्ठले हग्ने भन्ने शब्द प्रयोग गरेपछि सायद असजिलो लागेर हुनुपर्छ । कार्यक्रम स्थलमा बसिरहेका केही महिला भने मुख छोपेर घोप्टो परे ।
सुन्नेहरुले असहज माने पनि सांसद श्रेष्ठले आफ्नो मन्तव्यलाई रोक्नु भएन । बरु तुलनात्मक रुपमा शौचालय पुरुषका लागि भन्दा महिलाका लागि अति आवश्यक रहेकोमा जोड दिनुभयो ।
‘म सांसद भएको नाताले विद्यालय, सार्वजनिक स्थल, सडक तथा पर्यटकीय क्षेत्रमा समेत कसरी शौचालय बनाउन सकिन्छ भन्नेमा चिन्तित छु म आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेरै छाड्छु’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सांसद श्रेष्ठले मात्र होइन । अहिले ‘हग्ने’ भन्ने शब्द सरसफाइ अभियन्ताहरु सबैले प्रयोग गर्छन् । सुन्दा असभ्य जस्तो लागेपनि यही शब्द सुनेर कतिपयले चर्पी बनाएको सरसफाइ अभियन्ताहरु बताउँछन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका समाजशास्त्री भोजेन्द्र अर्याल भन्नुहुन्छ ‘मानिसहरु यो शब्द सुनेर ट्रिगरर भएको पाएको छु, हामी त खुला ठाउँमा दिसा गर्नेलाई सम्मानपूर्वक ‘दिसा गर्नुभयो’ भन्दैनौं । फलानाले खुला ठाउँमा ‘हग्दा’ प्रहरीले समाते भन्छौं, यसो भन्दा लाजले पनि चर्पी बनेका उदाहरणहरु छन् ।’